जाजरकोटको भेरी नगरपालिका–३, खलंगामा पहिरोले दुईवटा घर पुरिँदा मृत्यु हुनेको संख्या ९ पुुगेको छ।
वेपत्ता भएका चार जनाको पनि शव फेला परेपछि मृतककाे संख्या ९ पुगेकाे हाे। पहिराेमा परेका एक जनाको भने जिवितै उद्धार गरिएको थियाे।
भेरी नगरपालिका–३, का तिर्थराज बोहरा र गाेपाल सुनारको घर पहिराेले पुरेको हाे। पहिराेमा पुरिँदा तिर्थराज बाेहराकी ७ वर्षीया छोरी नग्मा बोहरा, भेरी नगरपालिका–६, गंगटिया घर भई बोहराकै घरमा भाडामा बस्दै आएका खड्गबहादुर लुहारीकी श्रीमती २५ वर्षीया शितलता लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिषा परियारको मृत्यु भएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।
यसैगरी, पहिराेमा पुरिएर कुशे–६ ढिमेका ११ वर्षीय नविन परियार र १३ वर्षीया नरेन्द्र परियार तथा नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियारकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएको छ। उनीहरुको शब पुरिएको घरभित्रै फेला परेको प्रहरी निरीक्षक सुनारले बताए। प्रहरी निरीक्षक सुनारका अनुसार ९ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ।
जिवितै उद्धार गरिएका खड्गबहादुरको जिल्ला अस्पताल जाजरकोट अस्पतालमै उपचार भइरहेको छ। लुहारको टाउको, छाती, र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र भिरालो ठाउँ भएकाले उद्धारमा केही ढिलाइ भएको सुनारले बताए।