सल्यानको एक मोटरबाटोमा अनियमितता भएको भन्दै स्थानीयहरुले छानविनको माग गरेका छन्। उपभोक्ता समिति मार्फत भएको काममा योजनाको ठूलो रकम हिनामिना भएको स्थानिय उपभोक्ताहरुले आरोप लगाएका हुन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका एकमा रहेको रिखेबजार गैरिकटेरी बाघमारे मोटरबाटोमा उपभोक्ता समितीले मोटो रकम अनियमितता गरेको प्रमाण आफुहरुसँग रहेको स्थानियको दाबी छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले विनियोजन गरेको ७५ लाख रुपैयाँमा कम र गुणस्तरहीन काम गरेको स्थानीय डिल्ली खड्काले बताए ।
उनी लगाएत स्थानीयहरु रत्न कुमार खड्का, कमल खत्री, लोकेन्द्र खड्का, ओम बहादुर खड्का, मान बहादुर पुन, खोपेन्द्र खड्का लगाएतकाले उपभोक्ता समिती गठन प्रक्रियामै एकलौटी गरेको भन्दै विरोध गरेका थिए । कोठाभित्र समिति गठन गरेको भन्दै समितिमा सबैलाइ समेट्न माग गर्दै आफुहरुले त्रिवेणी गाउँपालिकामा लिखित उजुरी तथा जिल्ला प्रशासन कार्यालयमा मौखिक उजुरी गरेको लोकेन्द्र खड्काले बताए ।
अहिले आएर काम कम गरेर योजना समेत फच्र्याैट गरिसकेको भन्दै गाउँलेहरुले अनियमितताको छानविन गर्न माग गरेका छन् । उक्त योजनामा सात सय २५ घण्टा डोजरले काम गरेको र प्रति घण्टा छ हजारको दरले ४३ लाख ५० हजार र मेशिनरी वालको चार लाख गरेर बढिमा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम भएको स्थानीयहरुले टिपोट गरेका छन् ।
‘तर ७५ लाखको योजनामा ४७ लाख ५० हजार रुपैयाँको मात्रै काम गरेर अरु सबै रकम भ्रष्टाचार भएको छ,’ एक स्थानीयले भने । मोटरबाटो निर्माण गर्दा सम्बन्धीत वडा कार्यालयसंग कुनै समन्वय समेत नभएको बताइएको छ । रकम भुक्तानीका लागी निर्माण उपभोक्ता समितीले त्रिवेणी गाउँपालिकासंग कार्यसम्पन्न भएको सिफारिस गरेको थियो ।