अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा प्रवेश गर्दा नेपाली नागरिकले शुल्क तिर्नुपर्ने निर्णयको विरोध गर्दै एक्याप कार्यालयमा तालाबन्दी गरिएको छ।
कास्कीका साविक घान्द्रुक, लुम्ले र दाङसिङका नागरिकले शुल्क लिने निर्णय फिर्ता गर्न माग गर्दै कार्यालय घेराउसहित तालाबन्दी गरेका हुन्।
सरकारले नेपालीसँग पनि शुल्क असुल्न निर्देशन दिएपछि एक्याप प्रवेश कार्यालयले पछिल्लो समयमा शुल्क उठाउँदै आएको थियो। सरकाले निर्णय फिर्ता नलिए कडा आन्दोलनमा उत्रने स्थानीयले चेतावनी दिएका छन्।एक्यापले नेपालीसँग प्रवेश शुल्क शीर्षकमा १ सय रुपैयाँ प्रतिव्यक्ति उठाउन थालेको छ। केही ठाउँमा २ सय रुपैयाँ असुलिएको स्थानीयको आरोप छ।
शुल्क फिर्ता आन्दोलनका लागि टेकबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा हरिमान गुरुङ, टीका पुन, मनप्रसाद तुलाचन, शान्ति देवकोटा पौडेल, चन्द्रप्रसाद देवकोटा, लिलावती सुवेदी, विनोद गुरुङ, रवीन गुरुङ, विशाल गुरुङ र लक्षिन गुरुङ छन्। एक्यापको चेकपोस्ट वीरेठाँटीबाट अन्यत्र सार्नुपर्ने, नेपालीसँग शुल्क उठाउने निर्णय फिर्ता गरिनुपर्ने, विदेशी पर्यटकसँग उठाउने शुल्क स्थानीय पूर्वाधार विकासमा खर्चनु पर्ने, स्थानीय तहको सिफारिसमा रुख कटान र चिरान गर्न पाउनुपर्ने र अन्नपूर्ण गाउँपालिकाभित्रका सबै चेकपोस्ट हटाउनुपर्ने स्थानीयको माग छ।
स्थानीय भरत गुरुङका अनुसार स्थानीयले गाउँको संरक्षण गर्न बुझाउँदै आएको शुल्क एक्यापले लिने गरेको छ। एक्याप कार्यालय घान्द्रुकका प्रमुख विदुर कुइँकेलले वार्ताबाट समस्या समाधान गर्न स्थानीयसँग आग्रह गरेका छन् ।