भुटानका बारेमा आमधारणा छ– यो ‘अपराधमुक्त’ देश हो । तर केही समयदेखि भुटानलाई लिएर भारतको तनाव बढिरहेको छ । यसको मुख्य कारण हो– यो मुलु्क सुन तस्करीको प्रमुख मार्ग बन्नु । भुटानबाट अन्तर्राष्ट्रिय अपराध सन्जाल सन्चालन भएको भन्दै भारतमा चिन्ता बढेको हो ।
भुटान केही समयदेखि अन्तर्राष्ट्रिय सुन तस्करको रोजाईको मार्ग बनेको छ । नेपालबाट हुने गरेको सुन तस्करीमा कडाई भएपछि तस्करहरुले भुटानको मार्ग अपनाउन थालेका हुन् । पछिल्लो समय भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई) ले भुटान हुँदै तस्करी गर्न लागेको ६६ किलोग्राम सुन जफत गरेको छ । यसको मूल्य २१ करोड भारतीय रुपियाँ बराबर भएको बताइएको छ । लखनऊ, कोलकाता र सिलिगुडीमा चलाइएको अलग–अलग अपरेशनमार्फत् यतिको परिमाणमा सुन बरामद गरिएको हो ।
भुटान हुँदै गर्न लागिएको तस्करीको सुन समातिएको यो पहिलोपटक होइन, केही समययता दर्जनौं भुटानी नागरिक सुन तस्करीको अभियोगमा पक्राउ परिसकेका छन् । डीआरआईले २०१७–१८ मा ३ हजार २ सय किलोग्राम तस्करीको सुन बरामद गरेको थियो । उक्त सुनमध्ये अधिकांश भुटान र म्यानमार हुँदै तस्करी गरिएको थियो । म्यानमारभन्दा पनि भुटानबाट हुने तस्करी भारतीय अधिकारीका लागि टाउको दुखाई बनेको छ । नेपालजस्तै भारत र भुटानबीच पनि खुला सीमाना छ ।
सुरुमा सुन तस्करी गरिएपनि बिस्तारै हतियार र लागूऔषधको पनि तस्करी हुने चिन्ता भारतीय अधिकारीहरुले व्यक्त गरेका छन् । (भारतीय सञ्चार माध्यमको रिपोर्ट)