त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा २६ मंसिरमा रामजानकी विवाहोत्सव मनाइँदै छ।
महोत्वसमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट हिँडेका जन्ती सोमबार जनकपुर आइपुगेका छन्। जन्तीका रुपमा अएका साधुसन्तहरु धनुषास्थित जटही नाका हुँदै जनकपुर आइपुगेका हुन्। प्रत्येक वर्ष महोत्तरीका नाकाबाट आउने गरेका जन्ती यसपाली धनुषा नाकाबाट आएका हुन्।
भारतबाट गाडी, घोडा तथा उँटमा सवार भइ आएका जन्तीलाई जानकी मन्दिरका उत्तराधिकारी महन्त सहित नेपाली काँग्रेसका नेता कार्यकर्ता एवं सर्वसाधारणले नाकामै गएर स्वागत सत्कार गरेका थिए। जन्ती तथा अन्य अतिथिको स्वागतका लागि नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीको नेतृत्वमा प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नगराईन नगरपालिकाका मेयर परमेश्वर यादव, तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, जनकपुर नगर समिति अध्यक्ष पंकज महतो, नेवि संघका जिल्ला अध्यक्ष सुजित मिश्र, तरुण दल धनुषाका पूर्व अध्यक्ष प्रफूल्लराज घिमिरे, नेता गणेश तिवारीसहित सयौंको संख्यामा नेता, कार्यकर्ता तथा सर्वसाधारण जटही नाका पुगेका थिए।
जटही नाकाबाट नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको पैतृक गाउँसमेत रहेको नगराईन नगरपालिकाको नगराईनस्थित राजेश्वर निधि विद्यालयमा भारतीय जन्ती तथा अतिथिहरुलाई केहिबेर विश्राम गराइएको थियो।
विश्रामकै क्रममा जन्तीका लागि नगराईन नगरपालिकाको तर्फबाट खाजा नास्ताको व्यवस्थासमेत गरिएको थियो। कांग्रेस उपसभापति निधिले जन्ती तथा अतिथिहरुको स्वागतमा कुनै कसर बाँकी नराख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए।
भिडियाे हेर्नुस्: