त्रेताकालीन युगमा राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमबार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
वैवाहिक कार्यक्रमपूर्व राम मन्दिर प्राङ्णमा भव्य समारोहका बीच मैथिली परम्परा अनुसार तिलकोत्सव कार्यक्रम सम्पन्न भएको हो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव जानकी मन्दिरबाट एक हजार एक पाहुर लिएर राम मन्दिर पुगेका थिए । तिलकोत्सव कार्यक्रममा राम मन्दिरका महन्त राम गिरीले दशरथ र जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकको भूमिकामा थिए ।
तिलकोत्सव कार्यक्रममा भगवान रामका अभिभावकलाई जानकीका अभिभावकले कोसेलीसहित वस्त्र, गहना दिएर (टीका टालो) तिलक लाएका थिए । जानकी मन्दिर परिसरबाट गाजाबाजाका साथ निकलेको कोसेली नगर परिक्रमा गर्दै राम मन्दिर परिसरमा प्रवेश गरेको थियो ।
कोसेलीमा फलफूल, मिठाई, पुरी, ठकुवा, गाँजा, बादशाही, खिर, दही च्युरा लगायतका सामग्रीहरू रामपक्षमा पठाइएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनका स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित ‘रामायण’मा गरिएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रुपमा मनाउने गरेका छन् ।
जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्त रामतपेश्वर दासले अयोध्याका साथै भारतको विभिन्न स्थानबाट आएका जन्तीहरुलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । तिलकोत्सवको अवसरमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरीले अंकमाल गरी ‘सम्धिमिलान’ गरेका थिए । सो अवसरमा दूवै पक्षबीच हासपरिहासका कार्यक्रम समेत भएको थियो ।
तिलकोत्सवमा मिथिलानीले वैवाहिक लोकगीतहरू गाएर सीताका अभिभावक जानकी मन्दिरका महन्तसहित तिलकोत्सव समारोहमा सहभागी साधुसन्त, महिला श्रद्धालु गीतमार्फत गाली दिदै जिस्काएका थिए । लोक गीतमार्फत गालीगलौज गरी जानकी पक्षका अभिभावकलाई गरिएको स्वागतले तिलकोत्सव समारोहमा थप रौनक थपिएको थियो । रामजानकी विवाह महोत्सवको पांचौ दिन मंगलबार सीताको मटकोर गरिने भएको छ। पवित्र गंगासागरको माटो ल्याई मंगलबार साँझ सीताको मटकोर कार्यक्रम गरिने भएको छ ।