निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ।
१३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन। निर्मलाको शव भेटिएको स्थानबाटै प्रमाण नष्ट गर्न सक्रिय प्रहरीको अनुसन्धान निरन्तर विवादित बन्दै गएको छ।
पछिल्लो पटक अनुसन्धान लागि हिरासतमा राखिएका दुई किशोर निर्मला बेपत्ता भएको बेला हिरासतमा रहेको खुलेपछि अनुसन्धान झनै जटिल बनेको हो। प्रहरी हिरासतमा रहेका भीमदत्तनगरकै दुई किशोर प्रदीप रावल र विशाल चौधरी साउन १० गते कुुखुरा चोरेको अभियोगमा पक्राउ परेको खुलेको छ।
तर निर्मला बेपत्ता भएको भनिएको साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा उनीहरू दुवै प्रहरी नियन्त्रणमा नरहेको पाइएको छ। एसपी कडायतले घटना भएको भनिएको समयमा प्रदीप र विशाल दुवै प्रहरी नियन्त्रणमा नरहेको पनि बताए।
‘निर्मला पन्तको बलात्कार र हत्या भएको समयमा अहिले शंकास्पद देखिएका दुवै प्रहरी नियन्त्रणमा थिएनन्’, उनले भने, ‘उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।’ अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ।