त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र जगत जननी सीताकी विवाहको स्मरणस्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथीमा मनाइने विवाहमहोत्सव आज उत्साहपूर्वक मनाइँदै छ।
मैथिली परम्परा अनुसार बुधवार राति जानकी मन्दिरको प्राङ्गणमा भगवान राम सीताबीच वैवाहिक कार्यक्रम सम्पन्न हुने भएको छ। भगवान राम र सीताकी प्रतिक बनाएर सम्पन्न हुने वैवाहिक कार्यक्रममा भारतको अयोध्यासहित अन्य स्थानबाट जन्तीको रुपमा आएका महन्त एवम साधु सन्तहरुको सहभागीता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए।
यसअघि रंगभूमी (बाह्र विघा) मैदानमा भगवान राम र सीताको स्वयम्वर कार्यक्रम गरिने छ। राम मन्दिरदेखि भगवान रामको डोला सहित निस्किने जन्ती पक्ष र जानकी मन्दिरबाट बिभिन्न झाँकी सहित निस्केका जानकी मन्दिरको डोला रंगभूमी मैदान पुगेपछि स्वयंवर कार्यक्रम गरिन्छ। स्वयंवर कार्यक्रममा मूख्य महन्त पूजा अर्चना गरी माला फेर गर्ने गर्छन्।
स्वयंवर कार्यक्रमपछि रंगभूमी मैदानबाट शोभा यात्रा निकालिने छ। शोभा यात्रामा बिभिन्न सरकारी कार्यालय, संघसंस्था, मठ मन्दिर लगायतका झाँकी सहभागी गराइन्छ।
यता विवाह पञ्चमीलाई दृष्टिगत गर्दै जानकी मन्दिरलाई दुलहीझैँ सजाइएको छ। सप्ताहव्यापी कार्यक्रम गरी मनाइने रामजानकी विवाहमहाेत्सवको प्रमुख आकर्षणको केन्द्र जानकी मन्दिरलाई रंगीचंगी बल्ब तथा फुलले सजाइएकाले मन्दिर भवन र परिसर झकीझकाउ देखिएको छ। जानकी मन्दिर भवन सजाउन झण्डै ८ लाख मूल्य बराबरको फूलमात्रै भारतको कोलकत्ताबाट आयात गरिएको छ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित पाँच सयको संख्यामा विशिष्ट अतिथिहरु आउने भएकाले विगतको भन्दा यस वर्ष सर–सजावटजस्ता कार्यलाई विशेष ध्यान दिइएको हो।
खचाखच भरियो जनकपुर
रामजानकी विवाहोत्सवमा सहभागी हुन तिर्थालु तथा भक्तजनहरुले जनकपुर भरिभराउ देखिएको छ। विवाहोत्सव अन्तर्गत बुधबार हुने प्रमुख समारोहभन्दा एक दिनअघि देखि नै जनकपुर तिर्थालुहरुले खचाखच भरिएको हो।
विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन्। विशेषतः विवाहोत्सव हुने प्रमुख स्थान जानकी मन्दिर र रंगभूमि क्षेत्रमा ठुलो संख्यामा तिर्थालुहरुको भिड लागेको छ।
यसपाली भने विवाह पञ्चमीका दिन नेपाल तथा भारतबाट दश लाख तिर्थालु पुग्ने आकलन गरिएको छ। विवाहोत्सवमा सहभागी हुने तिर्थालुहरु महोत्तरीको जलेश्वर र धनुषाको जटही नाकाबाट जनकपुर पुगिरहेका छन्। तिर्थालुहरुको चापलाई ध्यानमा राख्दै जनकपुर अञ्चल बस व्यवसायी संघले जलेश्वर र जटही सडक खण्डमा गुड्ने बसहरुको ‘क्यू’ दुई दिनको लागि अन्त्य गरेको छ।
अध्यक्ष चौधरीका अनुसार गत वर्षको तुलनामा ३० प्रतिशत धेरै तिर्थालु विवाहोत्सवमा सहभागी हुन जनकपुर पुगिरहेका छन्। उनले विगतका वर्षहरुमा भारतको विहार राज्यबाट धेरै तिर्थालु आउने गरे पनि यस वर्ष उत्तर प्रदेशबाट समेत तिर्थालु आएकाले घुइँचो बढेको जानकारी दिए।
यसका साथै भारतका विभिन्न स्थानबाट रिजर्व बस, निजी गाडीलगायतका साधन प्रयोग गरी हजारौंको संख्यामा तिर्थालु जनकपुर पुग्ने क्रम जारी छ। भारतबाट आउने तिर्थालुहरुको गाडीलाई ट्राफिक प्रहरीले नगर क्षेत्रभित्र प्रवेश दिएको छैन्। तिर्थालुका रिजर्व र निजी गाडीहरु जनकपुर प्रवेश गर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ।
तिर्थालुका लागि पण्डाल तथा शिविर
रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने तिर्थालुको संख्या धेरै भएपछि जनकपुरस्थित होटल, लज र धर्मशालाको संख्या कम परेको छ। यहाँ उपलब्ध होटल, लज र धर्मशालाहरुमा तिर्थालु नअटाउने भएपछि सरोकारबलाहरुले वासका लागि ठाउँठाउँमा पण्डाल (टेन्ट) गाडेर व्यवस्थापन गरेका छन्।
विवाहपञ्चमीका तिर्थालुहरुका भिडभाडलाई मध्यनजर गरी निजी तथा सरकारी स्तरबा निःशुल्क शिविर समेत सञ्चालन गरिएको छ। स्थानीय युवा क्लब, गैरसरकारी संघसंस्था, जातीय संस्था सहितका तर्फबा जनकपुरका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो।
यस्तै नेपाली सेनाले रंगभूमि मैदानमा ठुलो पण्डाल लगाएर तिर्थालुहरुका लागि वासको व्यवस्था गरेको छ। पण्डालमा एक हजारभन्दा बढी तिर्थालु अटाउने गरी नेपाली सेनाले वासको व्यवस्था गरेको छ।
जनकपुरधाम उपमहानगरपालिकाले तिरहुतिया गाछीमा पण्डाल लगाएको छ। विवाह महोत्सवक सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रमुख वैवाहिक कार्यक्रमको दोस्रो दिन रामकलेवा अर्थात जन्तीलाई विदाई गर्ने परम्परा छ।