कालिकोटको पलाँता गाउँपालिका वडा नं. १ खाडान्यौपानेवाडामा सोमवार राति भएको भीषण आगलागीबाट पीडित भएका घरपरिवारलाई कर्णाली प्रदेश सरकारले तत्कालीन राहत वितरण गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्यान्न, लताकपडा लिएर सोमवार दिउँसो घटनास्थल पुगी वितरण गरेका हुन् ।
प्रदेश सरकारका तर्फबाट राहतस्वरुप प्रति घरधुरी नगद २० हजार, कम्बल १०० थान, पिफम पाँच बण्डल, सिरक डसना १०० थान, चाउचाउ १५ पेटी, च्युरा तीन बोरा र गृह मन्त्रालयको तर्फबाट त्रिपाल ६० थान, जुत्ता १०० थान, ज्याकेट १०० थान, ट्राउजर १०० थान र कम्बल २०० थान लिएर नेपाली सेनाको हेलिकप्टरबाट मुख्यमन्त्री शाही घटनास्थल पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकरी दिए ।
मुख्यमन्त्री शाहीसहित राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, प्रदेशसभा सदस्य कुर्मराज शाही घटनास्थल पुगेका थिए । यस्तै केन्द्र सरकारको तर्फबाट सदरमुकाम मान्मबाट ३० क्वीन्टल चामलसहित दाल, तेल, नुन वितरण गरिने बताइएको छ ।
यसैगरी सो आगलागी घटनाको कर्णाली प्रदेश सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश सरकारले सोमवार दिउँसो एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्रसमेत रहेको सो स्थानमा भीषण आगलागी हुँदा ४७ घरधुरी पूर्णरुपमा ध्वस्त भएको, सात जना घाइते र नगद तथा जिन्सी सामानहरु पनि खरानी भएकोमा दुःख व्यक्त गरिएको छ ।
विज्ञप्तिमा घटनामा परी घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाइएको छ । साथै आगलागी पीडितहरुलाई थप राहत र पुनस्र्थापनाको लागि नेपाल सरकार गृह मन्त्रालय, रेडक्रसका साथै अन्य सहयोगी संस्थाहरुसंग आग्रह पनि सरकारले गरेको छ । र राहत तथा पुनस्र्थापनाको लागि प्रदेश सरकारले कार्यक्रमपनि संचालन गर्ने जानकरी सरकारले दिएको छ ।