कला साहित्य तथा जातीय पहिचानका लागि विराटनगमा माघी महोत्सव हुने भएको छ। थारु कल्याणकारिणीसभा मोरङले माघे संक्रान्तिको अवसर पारेर माघ ५ गते एकदिने महोत्वसको आयोजना गर्न लागेको हो।
विराटनगरमा पत्रकार सम्मेलनमा महोत्सव संयोजक गौरब तवदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गर्न लागिएको बताए। विराटनगर–४ स्थित कञ्चनबारीमा हुने महोत्सवमा घोघीं, बयिया, तिलको लड्डु, मुरीको लड्डु, परेवा र हाँसको मासु, माछा लगायतका थारु परिकारका स्टल राखिने संयोजक तवदारले जानकारी दिए।
महोत्सवमा थारु जातीको भेषभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गर्ने सभाका अध्यक्ष प्रदिप भगत थारुले बताए। महोत्सवमा थारु जातिका लोप हुन लागेका आगोमा ताप्ने चुल्हो, वर्षी, धान राख्ने भखारी, मौडा, कोठी लगायत प्रदर्शनमा राखिने छ।
महोत्सवमा थारु सांस्कृति झल्कने झाँकी, पौराणीक नृत्य पनि देखाइने छद्ध। थारु भेषभुषा र रहनसहनमा आधारित वृतचित्र महोत्सवमा प्रदर्शन गरिने भएको छ। महोत्सवमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका अगुवाको सहभागिता रहने आयोजकले जनाएको छ।