युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापालमाथि कुटपिट गरेका छन्।
आफ्नो कार्यकक्षमा काम गर्दै गरेका सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई श्रेष्ठले एक्कासी कार्यकक्षमै आएर कुटपिट गरेका हुन्। सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले साेबार बिहान ११ः२० बजे कार्यालयमै पसेर कुटपिट गरेका हुन्। कुटपिटबाट पराजुलीको अनुहारभरी गम्भिर चोट लागेको छ।
‘एक्कासी आएर ममाथि कुटपिट गर्यो,’ पराजुलीले रुँदै भने, ‘बाहिर आईज भनेर बोलायो, मैले भित्रै आउनुस् भने, त्यसपछि मलाई नटेर्ने तैंले भनेर माथि जाइलाग्यो, अन्धाधुन्द कुटाईले मेरो शरीर थिलो थिलो भएको छ।’ पराजुलीलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको छ। श्रेष्ठले लेखापालसँगै नगरपालिकाका नासु होमनाथ पौडेललाई समेत हातपात गरेका थिए।
सुन्दरबजार अस्पतालले औषधीसम्बन्धी २६ लाख ५० हजार बराबरको टेण्डर आव्हान गरेको थियो। उपाध्यक्ष श्रेष्ठ अहिले फरार छन्। उनको खोजी भइरहेको डिएसपी यादव ढकालले बताए। श्रेष्ठ यसअघि पनि विभिन्न घटनामा संलग्न हुँदै आएका छन्। पराजुली गत फागुनदेखि सुन्दरबजार नगरपालिकामा लेखापालको रुपमा कार्यरत छन्।