वीरेन्द्रनगर ४ स्थित भैरम सामुदायिक बन उपभोक्ता समूहले यतिबेला फरक चिनारी बनाउन सफल भएको छ । अहिले उक्त वनलाई वनस्पति अध्ययन केन्द्रको रुपमा चिन्न थालिएको छ । वन समूह भनेपछि वन संरक्षणमात्र नभइ बन्य जडिबुटीहरुको उत्पादन र विक्री वितरणसमेत गर्न थालिएपछि सो वनको चिनारी फरक भएको हो ।
सो वनले दुई बर्षको अवधिमा ८३ हजार टिम्मुरका विरुवा रोपेको छ । एक लाख विरुवा रोप्ने लक्ष्य लिएकोमा अहिलेसम्म ८३ हजार विरुवा रोपिएको छ । बाँकी अर्को बर्ष लगाउनेछ । यस्तै दुई हजार तेजपात, ६०० च्युरी, दुई हजार अम्रिसो, ७०० बाँस, ३०० लप्सी, ५०० वेलका विरुवाहरु आप्mनो बन क्षेत्रमा रोपेको वन समूहका अध्यक्ष अमरबहादुर कार्कीले जनाए ।
यी सवै विरुवाहरु माटो परीक्षणपछि रोपिएका हुन् । अहिले २५ हजार टिम्मुरका बेर्ना तयार पारिएको छ । टिम्मुरका बेर्नाहरु विक्रीका लागि तयार पारिएको हो । प्रति विरुवा रु.६० तोकिएको छ । त्यतिमात्र होइन हर्रो, बर्रो, कुरिलोजस्ता बहुमूल्य जडिबुटीपनि लगाइएको छ ।
काठ बेचेरमात्रै आम्दानी गर्ने नभइ विभिन्न जडिबुटीहरु लगाइ त्यसबाट पनि आम्दानीको स्रोत बढाउन विरुवाहरु रोपिएको अध्यक्ष कार्कीले बताए । आगामी बर्ष वनले विरुवा विक्रीबाट मात्रै आठ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यसका साथै टिम्मुर खेतीका लागि २० लाख बजेट छुट्याउने तयारी गरेको छ ।
यसैगरी सोही वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विस्तार गर्न लागिएको छ । सुर्खेतको पुरानो सदरमुकाम गढीदेखि आउनका लागि पैदल मार्ग बनाउने लक्ष्य वन समूहले लिएको अध्यक्ष कार्कीले बताए । यस्तै वन क्षेत्रभित्र विभिन्न पिक्निक स्पष्टहरुसमेत निर्माण गरिएको छ ।बुलबुलेपछिको महत्वपूर्ण पिक्निक क्षेत्र बनाइने उनको भनाइ छ ।
त्यस्तै कर्णाली प्रदेश प्राप्तिको लडाईमा दिवंगत भएका चार जना शहीदको सम्झनामा सोही वन क्षेत्रमा शहीद पार्क निर्माण गर्न लागिएको छ । सुर्खेतका तीन र जुम्लाका एक गरी चार शहीदहरुको सम्झनामा सो क्षेत्रमा आधुनिक शहीद पार्क निर्माण हुदैंछ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिका र वन समूहको सहयोगमा अहिले गुरुयोजना र खानेपानी निर्माणको काम सम्पन्न भएको अध्यक्ष कार्कीले बताए । उक्त पार्कलाई कर्णाली प्रदेशकै नमूना पार्क बनाउने दावी उनले गरे ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालले भैरम सामुदायिक वन अहिले अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास हुन लागेकोमा खुशी प्रकट गर्दै यसले प्रदेशकै वन समूहको नेतृत्व गर्नुपर्ने सुझाव दिए । सोही वडाबासी एवं कर्णाली प्रदेश सांसद तथा पूर्वमन्त्री यामलाल कँडेलले उक्त वन क्षेत्रभित्र जैविक पदमार्ग बनाउन र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुझाव दिए । साथै शहीद पार्क र त्यहाँसम्म पुग्ने सडकका लागि प्रदेश सरकारले दुई करोड बजेट बिनियोजन गरेको जानकारीसमेत दिए । उनले बन समूहलाई काठ काटेर वेच्नमात्र नभइ संरक्षण संवद्र्धनका साथै बनस्पति अध्ययन केन्द्रको रुपमा विकास गर्न आग्रह गरे ।