कार्यलयभित्रै कर्मचारी कुटिएपछि लमजुङको सुन्दरबजार नगरपालिकाको कामकाज ठप्प भएको छ । सोमबार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटीएपछि कर्मचारीहरुले आन्दोलन स्वरुप कार्यालयको सेवा प्रवाह ठप्प पारेका हुन् ।
सुन्दरवजार नगरपालिका अन्तर्गतका कर्मचारीहरुले दोषीलाई कारवाहिको माग गर्दै आन्दोलन गरेका हुन् । कर्मचारीहरुले नगरपालिका अन्तर्गतका सवै वडा कार्यालयहरुमा सेवा प्रवाह ठप्प पारेका छन् । कार्यलय समयमा कार्यकक्षमै निरअपराध कर्मचारी कुटिएपछि कर्मचारीहरु आतंकित भएको र मनोवल गिरेको सुन्दरबजार नगरपालिका लमजुङका प्रसाशकिय अधिकृतिक जीवन ज्ञावलीले बताए ।
नेकपा निकट युवासंघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले सोमबार मध्यान्ह कार्यालयमै पसेर कुटपिट गरेका थिए । कार्यकक्षमै कर्मचारीमाथि साँघातिक आक्रमण गर्नु कदापी राम्रो नभएको र कर्मचारीको आन्दोलनले सेवाग्राहि प्रभावित हुनुको साथै नगरपालिका अस्तव्यस्त भएको सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाहले बताए ।
कुटपिटबाट घाईते पराजुलीको अनुहारमा गम्भिर चोट लागेको छ । घाईते पराजुलीलाई लमजुङ जिल्ला सामुदायिक अस्पताल सामान्य उपचार गरी थप उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लागिएको छ ।
घटनापछि सुन्दरवजारको वातावरण भयवित भएको छ । घटनापछि कर्मचारी आधिकारीक ट्रेड युनियन सहित कर्मचारीका विभिन्न संघसंगठनले दोषीलाई कारवाहिको माग गरेका छन् । दोषीलाई तत्काल पक्राउ गरी कारवाहि नगरे आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् । लेखापाललाई कुटपिट गर्ने उपाध्यक्ष श्रेष्ठ भने अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।