सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका जनप्रतिनिधि ३ दिने प्रशिक्षणका लागि पोखरा आएका छन् ।
गाउँपालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन पद्दति, न्यायिक समिति, योजना तर्जुमा एवं कार्यान्वयन, कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम लिएर २२ जनाको टोली गएको बुधबार पोखरा आइपुगेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आइसकेको त्यसअनुरुप काम कारबाही हुन नसकेको महसुस गर्दै जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम राखिएको जनाइएको छ । कार्यक्रमले जनप्रतिनिधिको क्षेत्राधिकारसँगै काम र कर्तव्यका विषयमा समेत दीक्षित गराउने विश्वास लिइएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरि शेर्पाले जानकारी दिए ।
‘काठमाडौं धेरैको रोजाइ हुने गथ्र्यो, समय थोरै र उपलब्धि धेरै लिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘काठमाडौंमा आफन्त भेटघाटले प्रशिक्षण कार्यक्रम फितलो हुने आंशकाले पनि पोखरा आइपुगेका हौं ।’ जनप्रतिनिधिको ध्यान एकाग्र बनाई कार्यक्रम सफल बनाउन पोखरा आएको उनले बताए । पोखरा लेकसाइडको एक होटलमा तीन दिने जनप्रतिनिधि प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । जनप्रतिनिधिले कार्यक्रम सकिएपश्चात्त पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीसँग अन्तत्र्रिmया गरिने जनाइएको छ ।
प्रवक्ता शेर्पाका अनुसार गाउँपालिकाको बैठकको निर्णयानुसार झन्डै ६ लाख रुपैयाँ खर्च हुने अनुमानसहित जनप्रतिनिधिको टोली पोखरा आइपुगेको हो । गाउँपालिकाले पोखराबाहेक अन्य स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गराउँदा तुलनात्मक रुपमा खर्च बढी उठ्ने भएकाले पोखरा छनोट गरिएको बताइएको छ ।
पोखराको पर्यटन विकासको खाका बुझ्न र यहाँको कार्यसम्पादन नियाल्न पोखरा छनोट गरिएको प्रवक्ता शेर्पाले सुनाए । ‘खुम्बु पासाङ ल्हामु गाउँपालिका सगरमाथा क्षेत्रमा पर्छ,’ उनले भने, ‘पोखराले जसरी अन्नपूर्ण संरक्षण आयोजना क्षेत्र, माछापुच्छ«े हिमालसँग गाँसिएर पर्यटनलाई ब्रान्डिङ गरेको छ, त्यसरी नै हामी सगरमाथाको पर्यटन व्यवसायलाई व्यवस्थित गराउन चाहन्छौं ।’
पोखरापछिको पर्यटकको अधिक चाप हुने खुम्बु गाउँपालिका पर्ने सुनाउँदै प्रवक्ता शेर्पाले यहाँको जस्तै व्यवस्थित पर्यटन व्यवसाय सञ्चालन गराउन गाउँपालिकाले अध्ययन थालिने समेत सुनाए । ५ वटा वडा भएको गाउँपालिकाभित्र विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथासमेत पर्छ ।
टोलीमा गाउँपालिका अध्यक्ष निमदोर्जी शेर्पा, उपाध्यक्ष टसी ल्हामु शेर्पा सहित गाउँपालिका वडाध्यक्ष, वडासदस्य सहभागी छन् । २१ गते कार्यक्रम समापन भएसकेपछि थप १ दिन पोखरा र आसपासको क्षेत्र भ्रमण गरी फर्किने कार्यक्रम रहेको प्रवक्ता शेर्पाले बताए । सभा, सम्मेलन र बैठक (माइस)का लागि पोखरामा पर्यटक बोलाउने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको योजना समेत बनाएको छ । यस्तो बेला सुदूरपूर्वको टोली प्रशिक्षणकै लागि पोखरा आउँदा माइस टुरिजमको सम्भावना थप पुष्टि भएको प्रतिक्रिया एक पर्यटन व्यवसायीले दिए ।