काठमाडौँ छोटो दूरीका दुईवटा सडकमा भीआइपीको लर्काे लाग्ने गरेपछि स्थानीय किसानहरुको तरकारी ढुवानीमा समस्या भएको छ ।
नियमित रुटका एकहजार भन्दा बढी टाटा सुमो गुड्ने हेटौँडा–फाखेल–काठमाडौँ र हेटौँडा–सिस्नेरी–काठमाडौँको रुटमा नियमित रुपमा निजी सवारी साधनको समेत अत्यधिक आवतजावत हुने भएकाले भीड बढेको हो ।
३ नं प्रदेशको राजधानी समेत हेटौँडा भएकाले अधिकाँश जिल्लाका मन्त्री, सांसद र सरोकारवालाहरु काठमाडौंबाट हेटौँडा आउनुपर्ने हुँदा दैनिकजसो दुबै छोटा बाटोहरु ब्यस्त हुने गर्छन् ।
छोटो बाटोमा ‘भिआइपी’ को यात्रा हुने र निजी गाडीहरु पनि उत्तिकै चल्ने भएपछि गह्रौ भारी बोक्ने स्थानीय सबारी साधनहरुलाई साँझ ८ बजेदेखि ५ बजेसम्म मात्र सञ्चालनको अनुमति दिइने भएको छ ।
मंगलबार जिल्ला समन्वय समितिमा बसेको सरोकारवाला बैठकमा साँझ ८ बजेदेखि बिहान ५ बजेभित्रमा फाखेल, कुलेखानी, मार्खु, सिस्नेरी लगायत स्थानबाट उत्पादित तरकारी निकासी गर्ने र खाद्यान्नहरु ल्याउने व्यवस्था मिलाइएको हो । यद्यपि यो व्यवस्थापनमा केही जनप्रतिनिधिहरुले आपत्ति व्यक्त गरेका छन् ।
समितिमा आयोजित छलफलमा जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङ, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा तथा वडा अध्यक्षहरु सहभागी थिए । बैठकमा सिस्नेरी र फाखेलको दुबै ग्रामीण सडकमा बराबरी हुने गरी के कसरी टाटासुमोहरु सञ्चालन गर्ने भन्नेबारेमा समेत छलफल भएको थियो ।