सुनको गहना ढल्काईदिने भन्दै सुन चोरी गर्ने एक भारतिय नागरिक प्रहरीको फन्दामा परेका छन् । स्थानियको उजुरीपछि रुपन्देहीका सैनामैना नगरपालिकाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका वडा न.११ बनकट्टाकी ३४ बर्षिय तारा रेग्मीको दुई तोलाको सुनको सिक्रि निशुल्क चम्काइदिने भन्दै भारत विहार प्रदेशमा बस्ने वर्ष १९का अमन कुमार शाहले गायाव बनाएका थिए । घटना लगत्तै प्रहरीमा उजुरी परेपछि शाहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविन राज मैनालीले जानकारी दिए ।
प्रहरी निरिक्षक मैनालीका अनुसार तारा रेग्मीको सिक्रि चम्काइदीन्छु भन्दै विभिन्न केमीकलहरु प्रयोग गरि सुन नै गायव गराईएको हो ।
पिडित रेग्मीले भनिन् “ हामीले एउटा सुन सम्बन्धी कम्पनी खोल्न गइरहेका छौ,त्यसैले निशुल्क तामा,चाँदी र सुन चम्काइदिन्छु भन्ने बहाना पारेर मलाई उसले ठगेको हो ।’ सुन सफा गर्न दिएपछि केही समयमै उक्त सिक्रिमा सुनको मात्रा नै घटेको आशंकामा तौल गर्दा ८०.५ लाल नै गायव भएको पिडित रेग्मीले बताइन् ।
उक्त सुनको बजार मुल्य अनुसार पनि अनुमानित ५० हजार बराबरको सुन गायव भएको प्रहरीको प्रारम्भीक अनुमान छ । पक्राउ पर्ने शाहलाई ठगी मुद्धा दर्ता गरि कानुनी कारबाही अघि बढेको प्रहरी निरिक्षक मैनालीले जानकारी गराए । गाउँघरमा डुल्दै परिस्थिती अनुशार सुनका गहना टल्काईदिने वाहनामा चोरी गर्ने एउटा हिरोह नै सक्रिया रहेको पनि प्रहरीले जनाएको छ ।