सहिद पत्रकार उमा सिहंको १० औं स्मृति दिवस आज मनाइँदै छ। सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाहरुले सहिद उमा सिहंको स्मृति दिवस मनाइ रहेका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखा, क्रियाशील महिला पत्रकार समुह लगायतका संघ संस्थाहरुले सहिद पत्रकार सिहंको स्मृति दिवसमा दिप प्रज्वलन, श्रद्धाञ्जलीसभा लगायतका कार्यक्रम आयोजना गरेका छन्।
शुक्रवार साँझ उनको स्मृतिमा जनकचोकमा श्रद्धाञ्जलीसभा गर्न लागिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए। जनकपुरकी पत्रकार सिंहको २०६५ पौष २७ गते विभत्स हत्या भएको थियो। भएको दिन पुस २७ लाई कालो दिनको रूपमा पनि मनाउने गरिन्छ।
को थिइन् उमा सिंह?
‘उमा सिंह’ जनकपुरमा मात्र नभई पुरै मधेशको पत्रकारिता जगतमा महिला साहसको प्रतीकका रुपमा चिनिन्छिन्। पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता बोकेकी उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरणको रुपमा चिनिन्छ।
रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्रायः महिला हिंसा र अन्यायमा परेकाहरुको बारे लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन्। सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन्।
सिरहाकै पहिलो महिला पत्रकारसमेत बन्न पुगेकी उनी जनकपुर आउनुपूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन्। पूर्वीतराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो। पछि मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षा हेर्दै उनी जनकपुर पुगेकी थिइन्।
जनकपुरस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचान बनाइन्। उमाको कामले त्योबेला महिला पत्रकारका लागि मात्रै नभई पुरुष पत्रकारका लागि पनि ऊर्जा प्रदान गरिरहेको थियो। तर, त्यो साहस र आँटको सत्यतालाई आत्मसात् गर्न नसक्नेका लागि उमा काँडा बन्न पुगिन्।
यसरी भएकाे थियाे हत्या
२०६५ साल पुस २७ गते चार बजे रेडियो टुडेमा समाचार वाचन गरेर उनी लोडसेडिङका बेला सहकर्मीसँग केहीबेर रमाइलो गरी डेरा फर्केकी थिइन्। उमा सिंहको लागि साथीसँगको त्यो दिन नै अन्तिम दिन बन्न पुग्यो।
अफिसबाट बेलुका जनकपुरको रजौलस्थित डेरामा पुगेर खाना पकाउँदै गर्दाको समय उनको कालको समय बन्यो। करिब साढे सात बजेतिर हतियार बोकेका केही व्यक्ति उनको कोठामा प्रवेश गरे। ती हतियारधारीले २४ वर्षीया पत्रकार उमाको कपाल समातेर एकाएक उनीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरे। सिंहमाथि प्रहार गर्नुपूर्व ती हतियारधारीले टोलछिमेकका व्यक्तिलाई धम्काइ बाहिर ननिस्कन चेतावनी दिँदै उनीहरुको घरको बाहिर चुकुल लगाई दिएका थिए।
१५–२० जनाको ती समूहले सिंहको शरीरभरि ३६ ठाउँ खुकुरीले काटेका थिए। ती हतियारधारी गएपछि छिमेकीले जसोतसो उमालाई केयर मेडिकल अस्पताल र्पुयाए। अस्पताल पुर्याउँदासम्म सिंहको अत्याधिक रगत बगिसकेको थियो। चिकित्सकले जनकपुरमा उपचार गर्न असम्भव रहेको भनेपछि उनलाई काठमाडौं रिफर गर्ने तयारी गरियो।
अवस्था अति नाजुक भएकाले गाडीबाट लैजान असहज देखियो र तत्कालै सैनिक हेलिकप्टर मगाउन खोज्दा हुस्सु बाधक बन्यो। त्यसपछि गाडीबाटै राजधानी लैजाने र जहाँ अनुकूल हुन्छ, त्यहीँबाट हेलिकप्टरले लग्ने योजना बनाइयो। महोत्तरीको बर्दिबास पुग्नुमात्र के थियो, उमाले अन्तिम सास लिइन्। अस्पतालको बेडमा उनले मैले के गरेकी थिएँ ? भन्दै बर्बराउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।
उमाले आफुलाई खतरा रहेको बताउँदै आएकी थिइन्। उनका सहकर्मीका अनुसार, आक्रमणको केही दिनअघिमात्र उनले केही घनिष्ट साथीलाई इमेल गरी आफ्नो असुरक्षा केही व्यक्तिका कारण बढेको लेखेकी थिइन्। जनकपुरमा पनि असुरक्षा महसुस गरेकी उमाले १ महिनापछि राजधानीबाटै पत्रकारिता गर्ने सोच बनाएकी थिइन्। तर पुस २७ गते उनको हत्या भयो।
यस्तो थियो हत्याको कारण
उमा सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढवर्ष अगाडिदेखि जनकपुर आइ रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरी समाचारवाचन गर्दै आएकी थिइन्।
उमाकी आमा सुशीलाले केही जग्गा उमाकै नाउँ गरिदिने र बिहे गरिदिने भन्ने कुरा उठाउँदा भाउजु ललिताले विरोध गर्न थालिन्। ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी पाउनको लागि उमेश, नेमलाल, चन्देश्वर, धनेश्वर, विजय, विन्दुसमेतको मिलोमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ।
सो समूहले उमालाई १ महिना अगाडि अपहरण गर्ने प्रयास समेत गरेको थियो। उनीहरूले सम्पूर्ण जग्गा भाउजु ललिताको नाउँमा दर्ता गरिदिन धम्की समेत दिँदै आएका थिए।१५ भदौ २०६३ मा सिरहाको रामनगर मिर्चैया वार्ड नं. ३ स्थित आफ्नै होटलबाट माओवादीको समूहले उमाका बुवा रंजित र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता पारेको थियो। १० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि आमाले धुरमीबजारको दुई कठ्ठा जग्गा समेत उमाकै नाउँमा पास गरेकी थिइन्।
जग्गा जमिनसम्बन्धी विवाद चल्दै आएको अवस्थामा भाउजु ललिताले स्थानीय माओवादी कमान्डर सुभाषमार्फत उमेश यादवसँग कुरा गरी हत्याको योजना बनाएकी थिइन्। उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए।
उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रशान्त भनिने नेमलाल पासवानलाई उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी दिएको र हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो।
अदालतको ठहर
जिल्ला अदालत धनुषाले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ। न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले हत्या काण्डका मुख्य अभियुक्त यादवलाई जन्मकैदको सजाय सुनाएको थियो।
धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् ज्यानसम्बन्धी महलको १३/४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो। सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धन्नजय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।
२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो। ती दुवै जना अहिले जलेश्वर कारागारमा छन्। त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए।
अन्य प्रतिवादीहरू धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेला परेका वखत कारवाही गर्ने आदेश गरेको थियो। त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनी आदेश दिइएको थियो।
जब स्वामीजी यादव भनिने उमेश यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत र्गयो, तब स्वामीजी भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कारी गरेको भए पनि २८ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाको इजलासले प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भन्ने अवस्था नहुँदापछि प्रमाण बुझँदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालयमा थुनुवा पुर्जी दिई पठाइदिने भनि आदेश गरेका थियो।