सिरहाको गोलबजार नगरपालिका–४ स्थित राइस मिलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
महेश साहले सञ्चालन गरेको जय माँ धमिनी राइस मिलमा ड्रायल मेशिनमा धान सुकाउने क्रममा आगलागी हुँदा मिलमा रहेको धान र मेशिन जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
शुक्रबार बिहान सवा ५ बजेतिर मिलमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासी र दमकलको सहयोगमा विहान ६ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।