उपराष्ट्रपतिको कार्यालय र निजी आवासको प्रयोजनका लागि समाज कल्याण परिषद्ले आफनै भवन र जग्गा छोडेर त्यसलाई खाली गराउनतिर लागेको छ।
परिषद्ले कार्यालयका सरसामान सार्नका लागि तयारी गरिरहेको परिषद्का कायममुकायम निर्देशक हरि तिवारीले बताए। ‘हामी अफिस सार्न भिटीझाम्टा कस्दै छौँ–सर्ने ठाउँ पनि तयारी भइरहेको छ’ –उनले भने। माघको १५ गतेभित्र परिषद् सरिसक्ने भएको छ।
परिषद्को कार्यालय पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको कार्यालयमा सर्ने र त्यहाँ नअटाएका शाखाहरु भृकुटी मण्डपमा रहेको परिषद्को आफ्नै कार्यालयमा सार्ने तयारी गरेको परिषद्ले जनाएको छ।
परिषद्ले आफ्नो कार्यालय नबनेसम्मका लागि नियमित कार्यालय सञ्चालनका लागि अस्थायी रुपमा कार्यालयमा सार्न लागिएको परिषद्का कामु निर्देशक तिवारीले बताए। ‘कार्यालय सार्ने र नियमित कार्यालय सञ्चालन गर्ने काम आफ्नै कार्यालय भवन नबनुन्जेल अस्थायी रुपमा हुनेछ’, उनले भने– ‘हाम्रो भवन बनाउने कामको योजना बन्दै छ।’ नेपाल समाचार पत्र दैनिकमा खबर छ।