रुपन्देही प्रहरी र तस्करबीच मध्यरातमा गोली हानाहान हुँदा एक जना तस्करको मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि तस्करहरुले गोली चलाएका थिए। अकस्मात गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करिब ३०–३१ वर्षका एक तस्करको मृत्यु भएको हो। प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ। पाखुरामा गोली लागेर प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्।
मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ। रुपन्देहीमा तस्करी मौलाइरहेको चर्चा चलिरहेका वेला प्रहरीले शर्च अपरेसन बढाएको थियो।