स्वास्थ्य क्षेत्रमा कार्यरत झन्डै एक लाख स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका छन्। समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेदकारी नीति अवलम्बन गरिएको भन्दै विभिन्न माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी परिचालन गर्न थालेको छ। उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्।
सीएमए-एचए आबद्व ६० हजार, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपालमा आबद्व २५ हजार, नेपाल डेन्टल हाइजेनिक एसोसिएसनमा आबद्व ८ हजार, आँखासम्बन्धी क्षेत्रका ४ हजार, जनस्वास्थ्य संघका ५ हजार, फिजियोथेराफी संघका १२ हजार पाँच सय व्यवसायी र कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
यसैक्रममा ४ हजार पाँच सय सरकारी सेवामा कार्यरत एचएहरूले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाएका छन्।
संघीयताअनुसारको नयाँ संरचना र कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायतका माग राख्दै नेपाल हेल्थ असिस्टेन्ट संघ (हान) आन्दोलनमा छ। संघीय संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई विभेद गरेको भन्दै देशभरका एचए काठमाडौंमा जम्मा भएका हुन्। उनीहरूले दैनिक माइतीघरमा समेत भेला भएर आन्दोलन गर्दै आएका छन्। एचएभन्दा माथि सीअहेबलाई राख्न खोजिएको र मन्त्रिपरिषद्बाट पारित एचएहरूको दरबन्दी संरचना कार्यान्वयनमा चलखेल गर्न थालिएको भन्दै आन्दोलन थालेको हान प्रदेश ३ का संयोजक कृष्ण खत्रीले बताए।
कर्मचारीलाई जिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश वा लोकसेवा आयोगको प्रक्रियाबाट बढुवा भएबमोजिम नियुक्तिपत्रमा उल्लिखित पदअनुसार मात्रै दिनुपर्ने माग एचएहरूको छ।
एचएहरूले स्थानीय तहमा कर्मचारी खटाउँदा वा समायोजन गर्दा तहगत रूपमा नभई जिम्मेवारी तथा कार्य प्रकृति हेरी ‘चेन अफ कमान्ड’ र ‘पदसोपान’ मा कुनै असर नपर्ने गरी सेवा प्रवेश गरेको नियुक्तिपत्रमा उल्लिखित पदअनुसार मात्र खटाउनुपर्ने माग अघि सारेका छन्। राजधानीमा खबर छ।