स्पर र तारजाली लगाउने काम समयमा नहुँदा वर्षाका कारण भत्केको विराटनगर–रंगेली सडक खण्डअन्तर्गत पर्ने वक्राहा पुलसँग जोडिएको कालोपत्रे सडक एक महिना बित्न लाग्दा पनि मर्मतसम्भार हुन सकेको छैन ।
पानीको बहाव रोक्न तारजाली तथा स्पर बनाउन जेठमै ठेक्का दिए पनि काम समयमा नभएपछि असार अन्तिम साता वक्राहाखोलामा आएको बाढीले सडक भत्काएको थियो । पुलको उत्तरतर्फ पानीको बहाव रोक्न सडक डिभिजन कार्यालय विराटनगरले डेढ करोड रुपैयाँ लागतमा गत जेठ महिनामै सुुनसरीको सरिता निमार्ण सेवा कम्पनीलाई ठेक्का दिएको थियो । तर उक्त कम्पनीले असारको अन्तिम आएर काम शुरु गरेको छ ।
बाढीले पुलको पश्चिमतर्फको कालोपत्रे सडक तथा पुलको ग्याबल र विङवाल भत्काएको छ। त्यसका लागि खोलाको सतहबाट सडकसम्म १० मिटरभन्दा अग्लो स्पर निर्माण गर्नुपर्ने हुन्छ । तर कम्पनीले मध्यबर्खामा गरेको काम प्रभावकारी रुपमा काम हुन नसकेको स्थानीयले बताएका छन् । उक्त कम्पनीले समयमा काम नगर्दा बाढीले पुलको पश्चिम तर्फको सडकसमेत भत्काएको कमल ऋषिदेवको भनाइ छ ।
कालोपत्रे सडकसमेत भत्किएपछि वक्राहाको पक्की पुलसमेत जोखिममा परेको छ । एक महिनादेखि भत्किएको सडक नवनेपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । भत्किएको सडकमा घेरा लगाएर अर्को छेउबाट सवारीसाधन आवतजावत गर्न दिएको सडक डिभिजन कार्यालयका इन्जिनियर मनिष झाले बताए । पुलको ग्याविन वनाउने काम ९ महिनाभित्र पूरा गर्नुुपर्ने सम्झौता छ ।
कम्पनीले समयमा काम नगर्दा बाढीले सडकमा क्षति प¥याएको उनको भनाइ छ । विराटनगरदेखि रंगेली हुँदै उर्लाबारी जोडने उक्त सडकमा दैनिक ५ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन् ।