डोटीमा भएकाे आगलागीका कारण तीनवटा पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्।
जिल्ला सदरमुकाम सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
विद्युत्लाइन सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन नसकेको प्रवक्ता धामीले बताए।
नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीपछि अहिले जिल्ला सदरमुकाम सिलगढीको विद्युत्लाइन काटिएका कारण सिलगढी गए रातिदेखि विद्युत्विहीन भएको छ।