काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ। दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ।
पहिलो चरणमा दिउँसो दुई समूह प्रहरी परिचालन गरिएकाले आवश्यकताअनुसार टोली थपेर कडाइ गरिने प्रहरीले जनाएको छ। यसअघि प्रहरीले राति ७ देखि १० बजेसम्म पहिलो चरणमा र राति ११ बजेदेखि १ बजेसम्म दोस्रो चरणमा गरेर एक रातमा ५० बढी स्थानमा मापसे चेकजाँच हुँदै आएको थियो।
मदिरा पिएका सवारी चालक भेटिए सवारी अनुमतिपत्रमा जरिवाना तिराएर प्वाल पार्दै आएको प्रहरीले पाँच पटकसम्म प्वाल परेपछि अर्को पटक भेटिएमा अनुमतिपत्र नै निलम्बन गर्ने गरिएको जनाएको छ। जाँचमा दैनिक करीब ८० देखि १०० जनासम्म मापसे गरेर सवारी चलाउँदै आएका चालक भेटिने गरेको छ।
अब दिउँसोमा यस्तो जाँच थालेपछि संख्या बढ्ने ट्राफिक प्रहरी महाशाखाको भनाइ छ।