बाँकेको कोहलपुरमा प्रहरीमा भर्ना हुन आएका युवकका विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
गत शनिबार कोहलपुरस्थित बसपार्क नजिकै सुर्खेतको सिम्ता गाउँपालिका–४ का २१ वर्षीय दीपकसिंह ठकुरीको घाँटी रेटी हत्या गरिएको थियो। उनका हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बुधबार बर्दियाबाट युवराज गिरीलाई पक्राउ गरेको हो।
प्रहरीले बुधबार बर्दियाको मैनापोखर बाँसबारी सडक खण्डको मधुवनबाट हत्याको भिडियो खिच्ने युवराज गिरीलाई पक्राउ गरेको बाँकेका एसपी अरुण पौडेलले बताए। उनका अनुसार गिरीलाई पक्राउ गर्न प्रहरीले गोली नै चलाउनु परेको थियो।
एसपी पौडेलका अनुसार इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंह नेतृत्वको टोली उनलाई पक्राउ गर्न खोज्दा भागेका थिए। त्यसपछि गिरीमाथि प्रहरीले गोली चलाएको थियो। उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
एसपी पौडेलले हत्याबारे अनुसन्धान अघि बढाइएका बताए।
मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए। ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई एक लाख ५० हजार रूपैयाँ बुझाएका थिए। सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी शनिबार बिहान मृत फेला परेका थिए।