पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन्।
म्याग्दीको बेनीबाट बिहीबार बिहान चितवनको नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस मालढुंगामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी तीन जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा धौलागिरी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
मृतकमध्ये पर्वतको जलजला गाउँपालिकाका सेती परियार र टीका परियार, म्याग्दीको पाखापानीका राजेश पुन र विषमाया पुन तथा बागलुङ नगरपालिका-४ की शान्ति केसीकाे सनाखत भएकाे प्रहरीले जनाएको छ। मृतक अन्य दुई जनाको सनाखत हुन सकेकाे छैन।
घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ। अन्य थप तीन जनालाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
घाइतेमध्ये १० जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ भने बाँकीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन। बस सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको छ।