कर्तव्य ज्यान मुद्दाका प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्रीलाल साह रहेको प्रहरीले जनाएको छ। साहमाथि वारेन्ट जारी भएर जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खोजी गर्ने क्रममा बुधवार उनी पक्राउ परेका हुन्। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सामा पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
यस्तै, चोरी मुद्दामा फरार एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका–८ का ५० वर्षीय कमल महतो रहेको प्रहरीले जनाएको छ। पुनरावेदन अदालत हेटाँैडाले नकबजनी चोरी मुद्दामा महतोलाई डेढ महिना कैद र २१ सय ८४ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
फरार रहेका महतोलाई बुधवार लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी एवं प्रहरी प्रवक्त डिएसपी दान बहादुर थापाले जानकारी दिए। पक्राउ परेका महतोलाई कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाइएको डिएसपी थापाले बताए।