काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा सबै वडाका आफ्नै भवन बनाइ सक्ने बताउँदै कार्य वातावरणका लागि पनि यो काम जरुरी भएको बताएका छन् ।
बिहीबार लैनचौरमा वडा २६ को भवन शिलान्यास गर्ने क्रममा मेयर शाक्यले सेवा दिने कार्यालय आफैं भाडामा यताउता सर्दै हिँडदा नागरिकलाई समस्या भएको बताए । व्यवस्थित सेवाका लागि कार्यालय आवश्यक भएकोल वडा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको मेयर शाक्यको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जीवन डंगोलले महानगरलाई व्यवस्थित बनाउन महानगरको नेतृत्वमा प्रदेश सभाले गर्ने सहयोगका लागि आफू प्रतिवद्ध रहेको बताए । महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले तोकेको समय सीमाभित्र वडा भवन निर्माण भइसक्ने बताउँदै ठेकेदारले काम नगरेर बीचमै हराउने क्रमले परिणाम आउन नसकेकोप्रति सचेत हुन आग्रह गरिन ।
१ बर्षभित्र वडा निर्माणको काम सक्न कुनै पनि समस्या छैन । केही भए आफूले सहजीकरण गरिदिने बताउँदै वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले समयमा काम नसक्ने ठेकेदारको म्याद कुनै पनि हालतमा थप नगर्ने बताए ।
शिलान्यास समारोहमा २६ का छिमेकी वडाहरु १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा ३ का अध्यक्ष दीपक के. सी र १६ का अध्यक्ष मुकुन्द रिजाल पनि सहभागी थिए ।