दाङ तुलसीपुर कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका छन्।
कारागारमा रहेका कुल ४ सय ११ कैदीबन्दीमध्ये १ सय ४१ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका निमित्त जेलर जोखिम वलीले जानकारी दिए। त्यस्तै कुल कैदीबन्दीमध्ये ९५ कर्तव्य ज्यान मुद्दाका छन्। तीमध्ये ८६ पुरुष र सात महिला कैदीबन्दी छन् भने एक पुरुष र एक महिला थुनुवामा रहेका छन्।
यसैगरी लागुऔषधका ६० जना रहेका छन्। तीमध्ये ५५ पुरुष कैदी छन् भने दुई कैदी र तीन थुनुवा गरी पाँच महिला छन्। त्यस्तै अपहरणका १९, चोरीका १८, बहुविवाह, जिउ मास्ने, डाँका-चोरीका १५-१५ जना रहेको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासनका अनुसार, ज्यान मार्ने उद्योगका छ, ठगीका पाँच, सवारी ज्यानका पाँच, गौवधका तीन, अप्राकृतिक मैथुनका दुई, आललागीका तीन, वन पैदावारका तीन, सार्वजनिक अपराधका दुई, अङ्गभङ्गका एक र अन्य दुई जना कैदीबन्दी कारागारमा रहेका छन्।
पाँच बालबालिका आश्रित
कारागारमा पाँच बालबालिका आश्रित छन्। तीमध्ये चार बालिका र एक बालक छन्। उनीहरु सबै पाँच वर्षमुनिका रहेको निमित्त जेलर वलीले जानकारी दिए। उनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका दुई अभिभावकका बालिका, बहुविवाहका दुई अभिभावकका बालिका र एक अभिभावकका बालक कारागारमा आश्रित रहेको बताए। रासस
सात विदेशी कैदी
कारागारमा सात जना विदेशी कैदी पनि रहेका छन्। तीमध्ये अधिकांश भारतका छन्। जबर्जस्ती करणीका तीन, लागुऔषधका दुई, अपहरणका एक, जिउमास्ने उद्योगका एक कैदी गरी सात विदेशी कैदी रहेको निमित्त जेलर वलीले बताए।भारतसँगकाे खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको उनको भनाइ छ।
कारागारमा समस्या छैन
कारागारको नयाँ भवन निर्माण भएपछि यहाँ ठूलो तथा विकराल समस्या नरहेको निमित्त जेलर वलीले बताए। उनका अनुसार विसं २०३६ मा स्थापना भएको पुरानो भवनमा १०० र विसं २०७४ मा सञ्चालनमा आएको नयाँ भवनमा २०० जनाको क्षमता रहेको छ। तर अहिले ४११ कैदीबन्दी रहेको भए पनि त्यति समस्या नरहेको उहाँको भनाइ छ। उहाँका अनुसार पुरानो भवनमा १३७ पुरुष र ३२ महिला गरी कुल १६९ कैदीबन्दी रहेका छन्। त्यस्तै नयाँ भवनमा २४२ पुरुष कैदीबन्दी रहेका छन्।
महिला चिकित्सक नहुँदा समस्या
कारागारमा महिलाको स्वास्थ्य जाँचका लागि महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन्। “पुरुषका लागि चिकित्सक हुनुहुन्छ, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन्।
त्यस्तै पुरानो कारागारमा शौचालय नभएको, कैदीबन्दीले बनाएका मुडा, ढाँकाको टोपी, पर्स, सिरकडसनालगायतले मूल्य नपाएको गुनासो गरेका छन्। कैदीबन्दीले अफ्नो दैनिक पारिश्रमिक पनि बढाउनुपर्ने माग गरेका छन्। उनीहरुको अहिले पारिश्रमिक दैनिक ६० रहेको र उक्त पारिश्रमिकले एक छाक खान नपुग्ने ताए। “दैनिक रु ६० पारिश्रमिकको रुपमा सरकारले छुट्याएको थियो”, उनीहरु भन्छन्, “उक्त पैसाले हामीलाई बिहान रु ३० र साँझ रु ३० ले खाना खानुपर्छ, तपाइ आफै भन्नुस्, ३० रूपैयाँको खाना कस्तो हुन्छ।”
कारागारभित्र पनि धेरै कैदी पढ्न इच्छुक भए पनि त्यसको व्यवस्था नभएको र वकिलको सहज पहुँच नहुनेजस्ता समस्या रहेको उनीहरुको भनाइ छ।