विभिन्न समयमा हराएका वा चोरिएका मोबाइलहरुको खोजी गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्ने कार्यलाई मकवानपुर प्रहरीले तीब्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०७५ सालको बैशाख महिनादेखि माघ ९ गतेसम्म आइपुग्दा १६८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । १६८ थान मोबाइलका कूल मूल्य २५ लाख २० हजार पर्ने अनुमान गरिएको छ ।
कतिपय हराएका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको हो भने कतिपय मोबाइल सेटहरु चोरी भएको अबस्थामा चोर्ने व्यक्ति समेतलाई पक्रेर मोबाइल फिर्ता ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो पनि १८ थान मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
सामसुङ, जीओनी, हुवाइ, ओप्पो, लाभा, मोटोरोला लगायत कम्पनीका एन्ड्रोइड मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।
विशेष प्रविधिको प्रयोग गरी हराएका वा चोरिएका मोबाइलहरुलाई फिर्ता ल्याएर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो । विभिन्न समयमा मोबाइल चोरिएको वा हराएको भन्ने उजुरीका आधारमा प्रहरीले खोजी गरी फेला पारी सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरिदिएको हो ।