सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कुष्ठरोगीका बिरामी बढेका छन्। नेपालमा कुष्ठरोग निवारण घोषणा भएको एक दशक बित्नै लाग्दा पनि कुष्ठरोग निवारण भएको छैन।
सुदूरपश्चिम प्रदेशको ईपिडिमियोलोजिकल तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२÷७३ मा २०८ जना, आव २०७३÷७४ मा २०१ जना कुष्ठरोगीका बिरामी भेटिएको तथ्याङ्क छ। आव २०७५÷७६ को प्रथम चौमासिकमा मात्रै कैलालीमा ७५ जना र कञ्चनपुरमा ७४ जना कुष्ठरोगीका बिरामी रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालय डोटीेले प्रस्तुत गरेको छ। जुन तथ्याङ्क डरलाग्दो रहेको सर्वसाधारणको बुझाई छ।
कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य भन्ने मुलनाराका सहित ६६ औं विश्व कुष्टरोग दिवसको अवसरमा आईतबार धनगढीमा सरोकारवालाहरुबीच अन्तक्रिया कार्यक्रम गरियो। कार्यक्रममा सहभागी क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक गुणराज अवस्थीले जनचेतनाको अभाव र अन्धविश्वासले कुष्ठरोगीका बिरामी बढिरहेको बताए।
सुदूरपश्चि सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले कुष्ठरोग नियन्त्रणका लागि जनचेतना फैलाउनु जरुरी रहेको बताए। नेपालमा कुष्टरोग निवारण घोषणा गर्दै गर्दाको समयमा १२ जिल्लामा कुष्ठरोग निवारण भएको थिएन। हाल १८ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन। नेपाल सरकारले सन् २०२० सम्म सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ।