दुईबर्षअघि पूर्णखोप जिल्ला घोषणा भएको मकवानपुरमा दादुराका बिरामी भेटिएका छन्।
जिल्लाको विकट कैलाश गाउँपालिका– ८ धुसाराङमा ५ जनामा दादुरा देखिएको हो। मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो। धुसाराङ चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको पिछडिएको गाउँ हो।
दादुराको संक्रमण भेटिएपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले धुसाराङमा पुगी नमूना रगत संकलन गरी जाँच गरेको थियो। सो क्रममा ६ जनाको रगत परीक्षण गर्दा ५ जनामा दादुरा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले बताए।
उनका अनुसार दादुराको संक्रमण पाइएपछि कैलाश गाउँपालिका, जनस्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य संगठनको हेटौँडास्थित कार्यालयले चासो व्यक्त गरी आवश्यक अनुसन्धान गरिरहेको छ। एकजना गर्भवतीसहित अन्य ४ जनामा दादुरा देखिएपछि गर्भवतीलाई उपचारका लागि भरतपुर पठाइएको थियो। गर्भवतीबाहेकसंक्रमणमा परेकाहरु अन्य ४ बर्षदेखि ८ बर्ष उमेर समूहका छन्।
दादुराको प्रकोप देखिएको क्षेत्रमा कैलाश गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा स्वास्थ्य शिविर गरी नियन्त्रणमा लिइएको जनस्वास्थ्य कार्यालयका प्रमुख सिंहले बताए। हावाबाट तत्कालै सर्ने दादुराको संक्रमण भएमा निरन्तर ज्वरो आउने, शरीरमा बिबिरा देखापर्ने, रुखाखोकी तथा नाकबाट पातलो सिँगान आउने जस्ता लक्षण देखा पर्छन्। समयमै उपचार पाएमा यो रोग ५ दिनमै निको हुने र उपचार नपाएमा मृत्यु समेत हुने स्वास्थ्यकर्मीहरु बताउँछन्।