खासगरी सीमा क्षेत्रका नेपाली उपचारका लागि भारतका बिभिन्न अस्पताल जाने गर्दछन्। तर जनकपुरस्थित जानकी आँखा अस्पताल भने भारतीय बिरामीको उपचारको गन्तव्य बनेको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालमा दैनिक सयौँ विरामी आउँछन्। तीमध्ये करिब ३० प्रतिशत भारतीय विरामी आउने गरेको अस्पतालले जनाएको छ। भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, बङ्गालसम्मका आँखाका बिरामी यस यहाँ आउँछन्। अस्पतालको फेको शल्यक्रिया सेवा अहिले बिरामीका लागि आकर्षण बनेको छ। भारतमा अत्यधिक महँगो पर्ने र निजी अस्पताल वा काठमाडौँमा सो सेवा महंगो हुने भएकोले जानकी अस्पताल राम्रो विकल्प भएको हो।
फेको शल्यक्रियामा आँखामा हुने मोतियाविन्दुको उपचार अति नै सूक्ष्मयन्त्रबाट गरिने र यसमा घाउसमेत नहुने हुनाले यस सेवाप्रति आकर्षण बढेको हो। ‘शल्यक्रियाको आधा घन्टापछि बिरामी निको भएर घर फर्किन सक्छन्। प्रमुख प्रशासकीय अधिकृत रामनरेश पाण्डेयले भने, ‘भारतीय बिरामीलाई आफ्नै देशमा यो उपचार पाउन गाह्रो रहेको तर नेपालमा रु. १२ हजारमा यो सेवा पाउँछन्।’ जबकि काठमाडौँमा यो सेवा लिन रु. ३० हजार खर्चिनु पर्ने उनको भनाइ छ।
तुलनात्मक रूपमा गुणस्तरीय, भरपर्दो र सस्तो उपचार सेवा दिन सके भारतबाटै पनि बिरामीहरू उपचार गराउन गराउन यहाँ आउँछन् भन्ने कुरो प्रमाणित गरेका छन्, जानकी आँखा अस्पतालले ।
अस्पतालप्रतिको जनविश्वास अनि सस्तो र गुणस्तरीय सेवाका कारण भारतका विभिन्न प्रान्तबाट बिरामीहरु यहाँ आउने गरेका हुन्। भारत विहार मधुवनीका अजय सिंह जनकपुरस्थित आँखा अस्पतालको उपचारले दीर्घकालसम्मका लागि लाभदायक हुने छिमेकीबाट थाहा पाएपछि उपचारका लागि आएको बताउँछन्। मोतियाविन्दु लगायतका उपचारमा आफ्नो ठाउँमा दुई लाखभन्दा बढी खर्च लाग्ने गरेको अनुभब सिंहले सुनाए।
अस्पतालका अनुसार सन् २०१८ मा यस अस्पतालबाट १ लाख १२ हजार १ सय ४४ जना विरामीले उपचार पाएका छन्। तीमध्ये ६० प्रतिशत महिला रहेको अस्पतालका अधिकृत अजय झाले जानकारी दिए।
शौचालयको बेहाल
अस्पतालको भौतिक संरचना र परिसर चिटिक्क देखिए पनि शौचालयको अवस्था भने बेहाल छ। शौचालयका दुईवटा कोठामध्ये एउटामा कपबोर्डमाथि फाहोरको डंगु छ भने अर्को कोठामा पूरै पानी जमेको छ। जसले गर्दा नाक नथुनी पिसाब गर्न पनि सकिन्न।
महिलाले प्रयोग गर्ने शौचालय पनि महिलामैत्री छैन। सौचालयको बेहाल भएको लामो समय बितिसम्दा पनि अस्पतालले ध्यान दिएको छैन। अस्पताल प्रशासनका अधिकारीहरु शौचालय सरफाईका लागि बल्ल पहल थाल्ने बताउँछन्।