धनुषाको बटेश्वर गाउँपालिकाले कुष्ठरोगी पत्ता लगाउन घरदैलो अभियान चलाउने भएको छ । माघ ६ गतेदेखि १० गतेसम्म घरघरमा पुगेर रोगी पहिचान गर्न कुष्ठरोगी निवारण अभियान सञ्चालन गर्ने गाउँपालिका स्वास्थ्य संयोजक रुद्र नरायण यादवले जानकारी दिए ।
कुल २१ हजार ६ सय जनसंख्या रहेको बटेश्वरमा ४ वटा टोलीले अभियान चलाउने संयोजक यादवले बताए । ‘एउटा टोलीले ४० वटा घरधुरी पुगेर रोगी पत्ता लगाउने छ, टोलीमा अहेव, सिएमए, महिला स्व्यमसेविका, समाजिक परिचालिकादेखि रोग लागेर निको भइसकेको व्यक्ति रहने छ,’ उनले भने । यादवले स्वास्थ्य संस्थाको तथ्याङ्क अनुसार पछिल्लो समय गाउँपालिकामा कुष्ठरोगी नदेखिएपनि रोगी पत्ता लागे नियमित औषधी खुवाएर निको पार्ने लक्ष्य रहेको उनले सुनाए । ‘पाप गर्दा लकबा मार्ने गरेको भन्ने समाजमा गलत मानसिकता रहेका कारण कुष्ठ रोगबाट पीडित भएकाहरु पनि खुल्न चाँहदैनन्,’ यादवले भने ।
बुधवार गाउँपालिका कार्यालयमा पत्रकारहरुसँगको अन्तक्रियामा उनले कुष्ठरोग सरुवा रोग भएपनि थोरै सर्ने गरेको बताए । यादवले कुष्ठरोग लागेपछि ५ महिना अथवा १ वर्ष नियमित औषधी खाँदा निको हुने भन्दै शंका लाग्ने बितिकै स्वास्थ्य संस्थामा गएर चेकजाँच गराई निःशुल्क औषधी खान गाउँवासीमा आग्रह गरे ।
सरकारले २०६६ माघ ५ गते राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भइसकेको घोषणा गरिसकेपनि प्रदेश २ अझैपनि कुष्ठरोगबाट प्रभावित रहेको उनको भनाई छ । अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत, उपाध्यक्ष प्रमिला महतो लगायत गाउँपालिका कार्यालयका कर्मचारी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।