हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा रहेको जिल्ला अस्पताल जीर्ण र जोखिमपूर्ण बन्दै गएको छ । अस्पतालको जीर्ण भवनसँगै अस्पतालका उपकरणहरुमा पनि प्राविधिक समस्याका कारण जोखिम बनेका छन् ।
२०७२ को विनाशकारी भुकम्पले क्षति पु¥याएको यो अस्पताल अहिलेसम्म मर्मत हुन सकेको छैन । त्यसयता १५ शैयाको अस्पतालमा ६ मात्रै शैया सञ्चालनमा छन् । भत्किएका भवन निकै जोखिमपूर्ण भएको प्राविधिकहरुले बताएपनि चिसोका कारण विकल्प नभएपछि जोखिम मोलेर नै सेवा दिईरहेको जिल्ला अस्पताल मनाङका मेडिकल अधिकृत युगेशराज पन्तले बताए ।
अहिले अस्पतालको एउटैमात्र भवन प्रयोगमा ल्याइएको छ । तर त्यो पनि जोखिममुक्त भने नभएको प्राविधिकहरु बताउछन् । जोखिम भवनसँगै अस्पतालका उपकरणमा पनि समस्या देखिएका छन् । अस्पतालमा विद्युत भोल्टेजका कारण बारम्बार समस्या हुने गरेको कर्मचारीहरु बताउछन् । राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको मनाङमा साना जलविद्युतका कारण ठूला उपकरणमा समस्या हुनुको साथै जोखिम पनि भएको अस्पतालका रेडियोग्राफर भुपेन्द्र शाहीले बताए ।
अस्पतालका एक्सरे, प्रयोगशाला लगायतमा भएका उपकरणहरु प्रयोग विहिन जस्तै बनेको छन् । मनाङ सदरमुकाम चामेमा रहेको जिल्ला अस्पतालमा खासै विरामीहरुको चाप त रहदैन तर पनि स्वास्थ्य सेवाको लागि आवश्यकता अनुसारका जनशक्ती र उपकरण भएपनि अस्पताल आएका विरामीले पनिसेवा लिन पाएका छैनन् । मनाङमा जिल्ला अस्पताल भएर उपचारका लागि जिल्लामै सेवा नपाउँदा स्थानीय अन्यत्र जान बाध्य भएका छन् ।