जनकपुरधाम धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवाकेन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना गरिएको छ।
प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भइरहेको छ।
कार्यक्रममा उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश राय पनि सहभागी थिए। मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन आजभोलि जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यांगनासँग लिपस्टिक लगाउँदै छ भनी सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।
आयोजकलाई लागि रहेको थियो भोजपुरीको ललिपप बोलको गीतले मधेसीलाई खुसी पार्न सकिन्छ त्यसैले यस प्रकारको स्वाङ रचिएको युवा नेता सुशील कर्णले आरोप लगाए।
युवा अभियानी दीपक ठाकुरले संस्कार बिगार्ने कार्य गरिएको आरोप लगाएका छन्। उनले जनकपुरधामलाई समाप्त पार्ने छुट कसैलाई नरहेका समेत बताएको खबर राजधानी दैनिकमा छ।