तीन नम्बर प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दाबादोर्जे लामाले मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिका क्षेत्रमा पाइने चिउरीको संरक्षण गरी मौरीपालनमार्फत आर्थिक सम्बृद्धि हासिल हुने बताएका छन्।
राष्ट्रिय वन दिवसको अबसरमा शुक्रबार मनहरी गाउँपालिका ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा फलफुलका बिरुवा रोप्दै उनले अब आर्थिक सम्बृद्धिका लागि वनको अधिकतम उपयोग गरी अघि बढ्नुपर्नेमा जोड दिए।
उनले बैज्ञानिक वन व्यवस्थापनमार्फत काष्ठ उत्पादनबाट मात्रै वन समूहमा रकम भित्रिएको प्रसंग सुनाउँदै फलफुलबाट सम्बृद्धि ल्याउने सपना प्रदेश सरकारले देखेको बताए। मदन भण्डारीको जन्मोत्सवको अबसर पारेर प्रदेश ३ ले गत चालू आर्थिक बर्षलाई फलफुल बर्ष घोषणा गरिसकेको उल्लेख गर ।
‘हामी हरेक जिल्लाका गाउँपालिका तथा वन समूहमार्फत फलफुल रोपेर आर्थिक उपार्जनको उपाय खोजिरहेका छौँ’, मन्त्री लामाले भने–‘फलफुलका बिरुवाको चिन्ता नलिनुस्, प्रदेश सरकारले व्यवस्था गर्नेछ।’ उनले वन समूहको फलफुल खेतीको फल किसानको भए पनि रुख रुख भने समूहकोे हुने बताए।
कार्यक्रममा ३ नं प्रदेश सांसद ओमबहादुर घलान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदाल, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमपछि स्थानीय उपभोक्ताले आँप, कटहर, लिची लगायतका २५० वटा फलफुलका बिरुवा रोपेका छन्।