तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित सरकारी प्रतिनिधिहरु आएर बास बसेको मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित बनकरियाको एउटा घरमा 'होम स्टे' सञ्चालन हुने भएको छ।
मनहरी गाउँपालिकाले आफ्नो बजेटमार्फत बनकरिया बस्तीमा 'होम स्टे' सञ्चालन गर्न लागेको हो। प्रधानमन्त्री रहेका बेला २०६९ साल माघ २६ गते बाबुराम भट्टराईको टोलीले बनकरिया बस्ती पुगी सानो सोमलाल बनकरियाको घरमा खानपान गरी बास बसेका थिए। हरेक महिनाको एकपटक जनताको घरमा बास बस्ने र दुःख बुझ्ने कार्यक्रम अन्तर्गत डा. भट्टराईले जनताको घरमा पुग्ने कार्यक्रम सञ्चालन गरेका थिए।
चालू आर्थिक बर्षको बिनियोजित बजेट बमोजिम तत्कालीन प्रधानमन्त्री भट्टराई बास बसेको सानो सोमलाल बनकरियाको घरमा 'होम स्टे' चलाउने तयारी गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। उनका अनुसार 'होम स्टे' सञ्चालनका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ। 'होम स्टे' सञ्चालनका लागि माया बनकरिया संयोजक रहने गरी 'होम स्टे' व्यवस्थापन समिति गठन गरिएको छ।
उपसंयोजक सन्तमाया बनकरिया रहेको सो समितिमा सदस्यहरु सुन्तली, कान्छिमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुवब खड्का संरक्षक रहेका छन्। होमस्टे सञ्चालनका लागि बनकरियामा बस्तीमा भएको छलफलमा अध्यक्ष उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडाअध्यक्ष ध्रुव खड्का, सञ्चारकर्मी प्रताप बिष्ट लगायतको सहभागिता रहेको थियो।
बनकरिया बस्तीका मानिसहरुलाई मकवानपुरकै होमस्टे सञ्चालन भएको क्षेत्र चित्लाङको भ्रमण गराउने तयारी समेत भएको र आवश्यक सरसफाई कार्यक्रम अघि बढाइएको वडाअध्यक्ष ध्रुव खड्काले बताए। अति सीमान्तकृत बनकरिया समुदायमा डेढ दर्जन परिवारको बसोबास छ। देशमै मनहरी गाउँपालिकामा मात्र यो जातिको बसोबास रहेको छ। सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अहिले सबै बनकरियालाई प्रतिब्यक्ति मासिक एक हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ।