ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खङ्ग्रिकोट दरबार खण्डहरमा परिणत भएको छ।सोह्राैं शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खङ्ग्रिकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो।
ऐतिहासिक र सांस्कृतिक पर्यटनकोे उच्च सम्भावना बोकेको यो दरबार संरक्षणका अभावमा आफ्नो पहिचान गुमाउन सक्ने अवस्थामा पुगेको छ। यसको संरक्षण र व्यवस्थापन गर्न सके यहाँ उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने र यसबाट गाउँको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासी मिलन सिंहको छ।
दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यस तर्फ ध्यान दिनुपर्ने सिंहको सुझाव छ। विगतमा दरबार संरक्षणका लागि स्थानीयवासीले पटक-पटक अनुरोध गर्दा कुनै निकायबाट सहयोग नपाएको बताउँदै उनले दरबार राज्यको ऐतिहासिक सम्पत्ति भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुःखद भएकाे बताए।
स्थानीय सरकार गठनपछि धार्मिक तथा ऐतिहासिकस्थलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिँदै खङ्ग्रिकोट दरबारको संरक्षणमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। बजेट विनियोजन गरे पनि दरबारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमति नदिएपछि बजेट अन्यत्रै खर्च गर्नुपरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताए। दरबार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ति भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने अध्यक्ष घर्तीले बताए।
दरबारको दीर्घकालीन संरक्षणका लागि हकवालासँग छलफल भइरहेको गाउँपालिकाले जनाएको छ। दरबार भत्किँदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, इँट्टा भिङ्गटीसमेत हराउँदै जान थालेको छ। सो दरबारमा तत्कालीन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेको छ। चार कोठे उक्त दरबारमा राजाको सिंहासन, स्नान कक्ष, भान्सा घरलगायतका कोठा रहेको बताइन्छ। दरबार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिरसमेत रहेको छ। मन्दिरमा दशैँको समयमा विशेष पूजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयवासीको भनाइ छ।
दरबारको समग्र विकास हुनसके खङ्ग्रिकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने पर्यटनका जानकार बताउँछन्। खङ्ग्रिकोटको चतुरभुजमा रहेको शिव पञ्चायन मन्दिर, सोही स्थानमा रहेको धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके यो क्षेत्र पर्यटकीय हब हुनसक्ने पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले बताए। रोल्पाको घोडागाउँ र प्यूठानको सारीस्थित रातो माटोलाईसमेत खङ्ग्रिकोटको पर्यटनसँग जोड्न सकिने उनले बताए।
पवित्र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई ऐतिहासिक दरबारसँग जोडेर प्याकेजमा पर्यटनको विकास गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको छ। रासस