व्यवस्थापन विषयमा स्नातकोत्तर आयुषी केसी एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर खान्थिन् । तलब सुविधा राम्रै थियो । देशविदेश घुमिरहन्थिन् । एकपटक कामकै क्रममा अमेरिका जाँदा त्यहाँको फोहोर व्यवस्थापन देखेर छक्क परिन् । अनि कसरी व्यवस्थापन गरिँदोरहेछ भनेर अध्ययन गरिन् । त्यसक्रममा थाहा पाइन्, ‘त्यहाँ जैविक र पुनप्रयोगयोग्य फोहोर भनेर पहिल्यै छुट्याएर राखिँदोरहेछ ।’
नेपाल आइसकेपछि वातावरण क्षेत्रका विज्ञसँग छलफल गरिन् र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने निधो गरिन् । त्यसपछि सुरु गरिन् अनलाइन कबाड संकलन व्यवसाय ‘खालीसिसी डट कम’ । ‘कसैले थालनी नगरेको व्यवसाय भएको र वातावरणलाई पनि राम्रो हुन्छ भन्ने सोचेर सुरु गरें,’ उनी भन्छिन् ।
खालीसिसी डट कम फोहोर अर्थात कवाडीको डिजिटल माध्यमबाट व्यवसाय गर्ने थलो हो। घर, कार्यालय, अस्पताल, अपार्टमेन्ट सहितका क्षेत्रबाट निस्कने फेरि प्रयोग गर्न मिल्ने वा नवीकरण गर्न सकिने फोहोरको कारोबार यहाँबाट गर्न सकिन्छ।
२ वर्षअघि सुरु गरिएको खालीसिसी डट कमसंग ८ हजारभन्दा बढी पुनप्रयोगयोग्य फोहोर संकलकहरु जोडिएका छन् । खालीसिसी डट कमले आयुषीलाई मात्रै अगाडि ल्याइदिएको छैन, ती संकलनहरुको जीवनस्तर पनि उकास्न मद्दत गरेको छ । स्मार्टफोन चलाउन नजान्ने उनीहरुलाई समाजले ‘कबाडी’ भनेर हेयको दृष्टिले हेर्छ । तर अहिले यसमा जोडिएपछि उनीहरु पनि खुशी छन् । १८ वर्षदेखि यो क्षेत्रमा जोडिएका राम सागर भन्छन्, ‘पहिले कराउँदै हिडनुपथ्र्यो, अहिले सजिलो भएको छ, फोन आएपछि अर्डर लिन गइन्छ ।’ उनले पहिलाको तुलनामा आम्दानी पनि राम्रो रहेको बताए । आयुषीका अनुसार सकंलकहरुको आम्दानी पहिलाको तुलनामा ३० प्रतिशतसम्म बढेको छ ।
पहिले चक्रपथभित्रको क्षेत्रमा मात्रै सीमित खालीसिसी डट कम आजकाल काठमाडौंसहित भक्तपुर र ललितपुरका क्षेत्रमा पनि फैलिएको छ । यसले पूराना कागज, बोत्तल, पूरानो व्याट्री, पूराना जिन्सलगायत लिँदै आएको छ । ‘तर बढी कागज नै आउँछन्,’ आयुषी भन्छिन् ।
घर रेष्टुरेन्ट, स्कुलबाट निस्किएको फोहोर २ तरिकाले संकलकलाई बुझाउन सकिन्छ । बेच्न इच्छुकले बेच्न सक्छन् भने यसै पनि दिन सक्छन् । दैनिक ७० हजार टन फोहोर उत्पादन हुँदै आएको काठमाडौ उपत्यकामा व्यवस्थापनको समस्या चर्को छ । उत्पादित फोहोरमध्ये ७० प्रतिशत पुनप्रयोगयोग्य हुने भएकाले त्यसको व्यवस्थापनमा पहल गर्ने आयुषीले बताइन् । आफ्नो संस्थाले सन् २०३० सम्ममा नेपाललाई विश्वकै उत्कृष्ट २० ‘रिसाइक्लिङ नेशन’ को सूचीमा पु¥याउने उद्देश्यले रहेको उनको भनाइ छ ।
‘मेरो व्यक्तिगत कुरामात्र नभई फोहोर व्यवस्थापन सबैको कार्य हो, सबैको सहभागीता भएमात्र भिजन २०३० पूरा हुन्छ,’ उनी भन्छिन् । सरकारले बलियो नीति नियम बनाउने हो भने फोहोर व्यवस्थापनको समस्या समाधान उनले उनले बताइन् । ‘वातावरण सफा राख्नु मेरो, सरकारको या कुनै एकव्यक्तिको मात्र होइन, सबैको जिम्मेवारी र दायित्व हो,’ उनी भन्छिन् ।
-जुना श्रेष्ठ/प्रशिक्षार्थी