गण्डकी प्रदेश मन्त्रिपरिषदले प्रदेश नीति तथा योजना आयोगमा रिक्त महिला सदस्यमा नवलपुर गैडाकोट ८ निवासी डा. भीमा ढुगांनालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले डा. ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । डा. ढुंगानाले जापानको मियाजाकी विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा विद्यावारिधि गरेकी छन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामा रहेर काम गर्दै आएकी ४६ वर्षीया ढुंगानाले भूकम्पपछिको पुनर्निर्माण लगायतमा पनि कार्य गरेकी छन् ।
गण्डकी प्रदेश सरकारले प्रदेश सभाका दिवंगत सदस्य टेकबहादुर घर्तीको परिवार, दृष्टिविहीन क्रिकेट खेलाडी र विभिन्न संघसंस्थालाई गरी ७९ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । घर्तीको पुस ६ गते निधन भएको थियो । राष्ट्रिय जनमोर्चाका सांसद उनी बागलुङ २ (ख)बाट निर्वाचित थिए ।
पोखरामा फागुन ९ र १० गते हुने नेपाल पत्रकार महासंघको विधान अधिवेशनका लागि २३ लाख रुपैयाँ, नवलपुर जिल्लाको त्रिवेणीस्थित पर्यटकीय स्थल गजेन्द्रमोक्ष धाम २० लाख रुपैयाँ, पोखरा थिएटर, गैह्रापाटनलाई १५ लाख रुपैयाँ, दृष्टिविहीन क्रिकेट खेलाडीलाई ५ लाख रुपैयाँ, सफल म्याराथन पोखरालाई २ लाख रुपैयाँ, सहारा एकेडेमी पोखरालाई २ लाख रुपैयाँ, बहिरा संघ गण्डकीलाई प्रदेश २ लाख रुपैयाँ र गण्डकी प्रदेश सभा सदस्य स्व. टेकबहादुर घर्तीमगरको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
यसैथगरी, अप्ठेरोमा परेका गर्भवती र सुत्केरीलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल ल्याउन गण्डकी प्रदेश सरकारले कानुन बनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले गर्भवती तथा सुत्केरी महिलाको जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा पु¥याउने इयर लिफ्टिङ कार्यविधि २०७५ पारित गरेको जानकारी दिए ।
‘कोही गर्भवती तथा सुत्केरी महिलाको अवस्था जटिल भयो भने स्वास्थ्यकर्मीले प्रदेशस्तरीय संयोजन समितिमा सम्पर्क गर्नेछन्,’ मन्त्री चुमानले भने, ‘समितिको सिफारिसमा प्रदेश सरकारले हेलिकोप्टर मार्फत उद्धार गरी अस्पतालसम्म पु¥याउने सुविधा निशुल्क उपलब्ध गराउनेछ ।’