मुलुकभरका अधिकांश जिल्लाहरुमा यतिवेला विकास निर्माणका कामले गति लिएको छन् । प्रतिकुल मौसमका कारण हिमाली जिल्ला मनाङमा भने विकास निर्माणको काम ठप्प भएको छ ।
स्थानिय विकास कार्यसूचि अनुसार मुलुकभरीका जिल्लामा विकासका लागि सरकारबाट विनियोजित वजेट सम्झौता सम्पन्न गरी काम गर्ने लहर चलेको छ । चारवटा मात्र स्थानीय तह रहेको हिमाली जिल्ला मनाङमा भने विकास निर्माणको गति शुन्य देखिन्छ । सडक, पुल, भवन लगायत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएपनि मनाङमा विकास निर्माणका कामले गति लिएको छैन । अत्याधिक चिसोका कारण र अधिकांश स्थानीयले जिल्ला छोडेपछि विकास निर्माणको काम पनि ठप्प भएको ङिस्याङ गापा– १ का वडा अध्यक्ष भुजुङ गुरुङले बताए ।
मनाङमा चिसोका कारण अधिकांश स्थानीय जिल्लामा छैनन । कर्मचारीहरुपनि विभिन्न बहाना बनाएर जिल्ला छोड्ने गरेका छन् । भौगोलिक विकटताका कारण वर्षातको समयमा मनाङमा सामान ढुवानीमा समस्या हुने गर्दछ भने असोज शुरु भएसँगै चिसो लाग्ने हुँदा पानी जम्न शुरु गर्दछ । चिसोले पानी जम्न थालेपछि काम गर्न निकै कठिन हुने हुँदा मुस्किलले तीनचार महिना मात्र काम हुने ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।
मनाङका अधिकांश स्थानीय कृषि र पर्यटन व्यवसायमा व्यस्त छन् । स्थानीयका अनुसार एक आर्थिक वर्षमा करिव तिन महिनामात्रै विकास निर्माणको काम गर्न मौसमले साथ दिन्छ । त्यो समयमा पनि दक्ष जनशक्तीको अभाव, भौगोलिक विकटता, बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा अपेक्षित उपलब्धी हासिल हुन नसकेको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष मेंखु गुरुङ बताए ।
मनाङको मौसम अत्याधिक चिसो हुँदा बाहिरबाट कामदार लगेर कुनै काम गर्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन् । फागुन लागेपछि मात्र स्थानीयहरु जिल्ला फर्कने र मौसममा पनि केहि सुधार हुने भएकोले अझै एक महिना पछि मात्रै विकास निर्माणका कामले गति लिने स्थानीयको भनाई छ ।