आफ्नो अपहरण भएको नाटक गर्दै साथीसँग मिलेर आफ्नी आमासँग फिरौती माग्ने एक युवक प्रहरीको फन्दामा परेका छन्।
जनकपुरधाम उपमहनगरपालिका–१७ बेलौनीका २२ वर्षीय अजय कुमार साहले दुई जना साथीसँग मिलेर आफ्नो अपहरण भएको भनी घरपरिवारलाई साथीबाट धम्की दिन लगाएर आमासँग १५ लाख रुपैयाँ फिरौती मागेको खुलेको छ। फिरौती माग्ने अजयका साथी जनकपुर उपमहानगरपालिका–२३ का २० वर्षीय समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका–८ का २५ वर्षीय अरबिन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ। नदाफलाई जनकपुरको पुलचोकबाट र यादवलाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
घटनाका मुख्य योजनाकार अजयले गत माघ २६ गते विहान करिब १० बजे साथीको जन्मदिन पार्टीमा जान भन्दै घरबाट हिँडेका थिए। तर, उनी अबेर रातिसम्म घर नफर्किदा उनका घरपरिवार चिन्तित थिए। यसअघि पनि उनी घरबाट हिँडदा २–३ पटक साथीको घरमा बसेर फर्किने गरेको हुँदा अजयको घरपरिवारले प्रहरीमा उजुरी गरेनन्।
अजय हिडेको भोलिपल्ट अज्ञात व्यक्तिले आफूहरुले अजयलाई अपहरण गरेको भनी अजयको आमालाई फोन गरेका थिए। उनीहरुले १५ लाख रुपैयाँ फिरौती माग्दै प्रहरीलाई खबर गरे सम्पूर्ण परिवारको हत्या गराइदिने भन्दै फोनमा धम्की दिएका थिए। बारम्बारको धम्कीपछि अजयकी आमा रेखा र अज्ञात व्यक्तिबीच बार्गेनिङपछि ५ लाख रुपैयाँ फिरौती दिने सम्झौता भएको थियो। सम्झौता भइसकेपछि अजयका परिवारले प्रहरीमा निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता भइसकेपछि प्रहरीले तरुन्तै विशेष टोली खटाएर अनुसन्धान शुरु गरेको थियो।
अनुसन्धानका क्रममा माघ २८ गते फिरौती लिन आएका समसाद र हाल काठमाडौंँ बस्दै आएका अरबिन्द पक्राउ परेपछि सोधपुछका क्रममा अजय आफै आमाबाट फिरौती माग्न अपहरण भएको नाटकको योजनाकार रहेको खुलेको थियो। अजयले मोटरसाइकल किन्न र भारतको गोवा घुम्न जाने इच्छा रहेकाले पैसा नभइ आफू अपहरणमा परेको नाटक गरेर फिरौतीको पैसाले मोटरसाइकल किन्ने र गोवा घुम्न जाने तथा सबै साथीलाई ठूलो पार्टी गर्ने योजना बनाएको खुल्न आएको शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले बताए।
‘फिरौती माग्ने योजना बनाएका अजयले रुँदै कराउँदै आमालाई फोन गरी फिरौती रकम दिन फोन गरेका थिए,’ प्रहरी उपरीक्षक खनालले भने। अजयलाई फागुन १ गते जनकपुरको जनक चोकमा साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानबाट दुबै साथीसँग मिलेर अजयले नक्कली अपहरणको नाटक गरेको खुलेको थियो।