मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं ९ मा काष्ठ फर्निचर उद्योगको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । वन पैदावारमा आधारित रही स्वरोजगारी सिर्जना गरेर आर्थिक आम्दानी बढाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार लागिपर्नुपर्ने उनले सुझाव दिए ।
मनहरीका १० वटा सामुदायिक वन उपभोक्ता समूहहरुको आर्थिक लगानीमा मनहरीमा काठ चिरान मिल सञ्चालनमा ल्याउन लागिएको हो । यस क्षेत्रबाट कटान हुने काठ चिरानका लागि भारतबाट आउने मजदुरले महँगो ज्याला लिने गरेका छन् । काठ मिल स्थापना भएपछि वन उपभोक्ताहरुको चिरानका समस्या हट्ने अपेक्षा गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मनहरी गाउँपालिका अध्यक्ष हेमलाल उप्रेतीले बताए ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा, मुनु सिग्देल, संविधानसभा सदस्य राजाराम स्याङ्तान, महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठक, पूर्व केन्द्रीय अध्यक्ष एबम् दाङ नगरपालिकाका मेयर घनश्याम पाण्डे मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती लगायतले वन पैदावारमा आधारित उद्यम गर्नुपर्नेमा जोड दिएका थिए ।