कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन्। अरुले बगैँचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका हुन्छन्। हरियो दुबोले साँच्चै मीराको जीवनमा बहार ल्याएको छ । यसरी दुबोसँगको सम्बन्ध बढ्नुको पछाडि पनि पक्कै कारण छ।
पोखराको बैदाममा बस्दै आउनुभएकी ४५ वर्षीय मीराले २०६५ सालमा पोखरा उद्योग वाणिज्य सङ्घले दिएको पाँचदिने दुबोको माला बनाउने तालीम लिएपछि दुबोसँगको उहाँको सम्बन्ध प्रगाढ बनेको हो। आर्थिक पक्षसँग मात्रै होइन उहाँलाई अझ बढी खुशी र आनन्द त्यतिबेला मिल्यो जब उहाँको कमजोर आँखा दुबो केलाउँदा र माला बनाउँदै जाँदा तेज हुँदै गए । त्यसपछि दुबो मीराको जीवनमा वरदान नै बन्न पुग्यो।
'मेरा आँखा निकै कमजोर थिए, हरियो दुबो केलाउँदा आँखाको समस्या हट्दै गयो, झण्डै दुई वर्षदेखि उपचार गर्दा पनि सुधार नभएको आँखा दुबोकै कारणले राम्रोसँग देख्ने भएकी छु', प्रसन्न मुद्रामा मीराले भनिन्,'दुबोले मेरो जीवनमा खुशीको बहार ल्याएको छ।'
तालीमले जीवनमा धेरै परिवर्तन ल्याएको उनी बताउँछिन्। 'धेरै दिदीबहिनीले तालीम लिएर प्रमाणपत्र राख्ने ठाउँ छैन भनेर भनिरहँदा मेरो जीवनमा त्यो एउटा तालीम नै महत्वपूर्ण बन्यो,'उनले भनिन्। साँच्चै तालिम लिनका लागि लिने र तालिमको समापनसँगै हराउनेको भीडमा मीरा एक त्यस्तो उदाहरणीय पात्र हुन् जसले तालिमको भरपुर सदुपयोग गरेर परिवर्तन ल्याएकी छिन्।
घरको सम्पूर्ण कामको व्यवस्थापन गरेर दुबोको माला बनाएर दिनको ५०० देखि दुई हजार ५०० रूपैयाँसम्मको आम्दानी गर्छिन्। विवाह, व्रतबन्ध एवं विभिन्न अवसरमा प्रयोग हुने दुबोको मालाको माग झनझन बढ्दो छ। यसले मीरालाई आर्थिकरुपमा सशक्त बनाएको छ। परनिर्भरताबाट मुक्ति मिलेको छ। मीराका श्रीमान् विगत सात वर्षदेखि रोजगारको सिलसिलामा दुबईमा छन्। उनका तीन सन्तान छन्। श्रीमानको आम्दानीले छोराछोरीको पढाइ खर्चदेखि घर खर्च चलाउनुपर्ने बाध्यतामा अहिले मीराको आम्दानीले पनि सहयोग पुगेको छ। मीराको जेठो छोरा इञ्जिनियरिङ पढ्दैछन्। जेठी छोरी स्नातक अध्ययरत छिन् भने कान्छी छोरीले विज्ञान सङ्कायमा ११ पढ्दैछिन्।
मीराको कामलाई छोराछोरीले पनि सहयोग गर्दै आएका छन्। पोखरा आसपासका ठाउँमा गएर मीरा दुबो सङ्कलन गर्छिन्। घरमा ल्याएर केलाएर फ्रिज वा पानीमा राख्छिन्, जुन १५ दिनसम्म ताजै रहन्छ। त्यसो त मीराको सीप देखेर गाउँघरतिरबाट आउने साथीभाइ इष्टमित्रले हरियो दुबो बोकेर भेट्न आउने गर्छन्। साथीभाइको सहयोगले पनि मीरालाई निकै ऊर्जा थपेको छ। आजकल पोखरा शहरभित्र दुबो त्यति पाइँदैन। अलि टाढा जानुपर्ने बाध्यता पनि छ। मीराले भनिन्,'दुबो पाएसम्म माला बनाइरहनेछु।'
तालिम लिन र तालिमपछि सीपको सदुपयोग गर्नुस् भनेर बारम्बार झकझकाइरहने महिला उद्यमी हीरा भट्टराईलाई प्रेरणाको स्रोत मान्छिन् उनी। 'हीरा दिदीले मलाई यो अवसर र हौसला नदिएको भए म पनि तालिम लिएर प्रमाणपत्र थन्क्याएर मात्रै बस्थेँ होला, मलाई बारम्बार माला बुन्न र सीपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो, आजको यो सफलताको श्रेय म महिला उद्यमी हीरा भट्टराईलाई दिन चाहन्छु', मीराले भनिन्।
उनले आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने भन्दै कतिपय सीपमूलक कार्यले मन शान्ति हुने बताउँछिन्। महिलाको श्रमको आर्थिक गणना नभइरहेका बेला फुर्सदको समय सदुपयोग गरेर हुने आम्दानीले सन्तुष्ट प्राप्त हुने उनको भनाइ छ। रासस