पोखरामा आजदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो खेलमा पोखरा पल्टन ५८ रनले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा नटआउट ४१ रन बनाए।
पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशलले ३८ रन बनाए। दोस्रो विकेटका लागि आसिफले रविन्दर सिंहसँग ९७ रनको साझेदारी गरेका थिए। आसिफले पोखराका लागि सर्वाधिक ५२ रन बनाए। रविन्दर सिंहले ४४ रन जोडे। विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा शहाब आलमले १ विकेट लिए।
पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाएर १३९ रन मात्र बनायो।
विराटनगरले सुरुवात देखि नै विकेट गुमाउँदा पोखराले दिएको लक्ष्य भेटाउन कठिन बनेको थियो। विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०(३० रन बनाए। कप्तान सन्दीप लामिछानेले १४ रनमा नटआउट रहे।
पोखराका लागि ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ वकेट लिए। यस्तै मेहबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुषाल र रासिद खानले समान १ विकेट लिए।
पीपीएलमा शनिवार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ।