पहिलो जितको खोजिमा रहेको विराटनगर टाइटन्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको हो। लगातार २ खेल गुमाएको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले आज भने राम्रो प्रर्दशन गरेको छ।
यसअघि व्याटिङमा समस्या देखिएकोमा आजको खेलमा ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेका छन्। पहिलो विकेटका लागि सुनिल धमला र विदेशी खेलाडी मोहम्मद जइदले ६५ रनको साझेदारी गरेका थिए।
पहिलो विकेटको रुपमा धमला ३० रन बनाउँदै आउट भएका थिए। यसैगरी टिमको स्कोर ६९ रन हुँदा एन्ड्रयू शुबेक्छन व्यक्तिगत ४ रनमा पेभेलियन फर्किए। त्यसपछि मोहम्मद जइद र राजेश पुलामीले विराटनगरको इनिङ अगाडी बढाएका थिए।
मोहम्मद जइद ६७ रन बनाउँदै आउट भए। त्यसैगरी राजेश पुलामीले ३० रन बनाएका थिए। ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौका पवन शर्राफले ३ तथा नन्दन यादब र अमरसिंह रौटेलाले दुई दुई विकेट लिएका छन्।