काठमाडौंमा जारी साफ यु–१५ फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ए को खेलमा नेपाल बंगलादेशसँग २–१ को अन्तरले पराजित हुँदै समूह उपविजेता बनेको हो।
खेलमा अग्रता बंगलादेशले नै लिएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै बंगलादेशका अहद सकिलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ३६ औं मिनेटमा नेपालले गोल फर्काएको थियो।
नेपालका राकेश विश्वकर्मालाई बंगलादेशका गोल रक्षकल लगाएपछि नेपालले पेनाल्टी पायो। पेनाल्टीमा नेपालका जान लिम्बुले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको पहिलो मिनेटमै बंगलादेशले गोल गर्दै समूह विजेता बन्न सफल भयो।
समुह ‘ए’को विजेता बनेको बंगलादेशले ६ अंक जोड्दा नेपाल ३ अंकसहित समूह उपविजेता बन्यो। सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्ने छ भने बंगलादेशले भारतको सामना गर्नेछ।