पोखरा प्रिमियर लिग अन्तर्गत चितवन राइनोजले पहिलो जित हात पारेको छ। लगातार दुई खेलमा पराजित भएको चितवनले बुधबार धनगढीलाई एक सय २६ रनले पराजित गरेकाे हाे। पोखरा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकाे चितवनले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ९३ रन बनायो।
उत्कृष्ट सुरूअात गरेको चितवनका हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गरेका थिए। जारी प्रतियोगितामा अहिलेसम्म कै ठूलो साझेदारी हो। यसका साथै पुरै प्रतियोगितामा पनि पहिलो विकेटका लागि भएको यो उच्च साझेदारी हो। तर अनिल ३७ रनमा आउट भएपछि चितवनले पहिलो विकेट गुमायो।
त्यसपछि हरिशंकर शाह पनि अर्धशतक बनाउदै आउट हुन पुगे। उनले ३३ बलमा ५३ रन बनाए। जसका कारण चितवनले एक सय १० रनमा दोस्रो विकेट गुमायो। चितवनका कप्तान पारस खड्का पनि आक्रामक रुपमा उत्रिएका थिए। तर उनी धेरैबेर क्रिजमा टिक्न सकेनन्। उनले ९ बलमा १९ रन बनाउदै आउट भए। सो बेला चितवनको स्कोर एक सय ४० रन थियो।
त्यसपछि स्मिथ पटेल २४ र आरिफ शेखले खाता खोल्न नपाउँदा चितवनले एक सय ६२ रनमा ५ विकेट झर्याे। त्यसपछि सन्नी पटेलले २६ तथा करण केसीले ११ रन बनाए। बलिङतर्फ दिपेन्द्र ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले एक एक विकेट लिए।
जवाफमा धनगढी १६ ओभर दुई बलमा मात्र ६७ रनमा अलआउट भयो। धनगढीको पारी सुरुवातदेखि नै धरापमा पर्याे। खाता खोल्न नपाउदै दुई विकेट गुमाएको धनगढीले सात रनमा तेस्रो विकेट खेर फाल्यो। उसका दुबै ओपनरले खाता खोल्न सकेनन्। यस्तै सन्दीप सुनारले मात्र एक रन बनाए।
त्यसको लगत्तै कप्तान दिपेन्द्र ऐरी पनि ब्यक्तिगत एक रनमा आउट भएपछि धनगढीले २७ रनमा चार विकेट खेर फाल्यो। ठूलो लक्ष्य पक्ष्याएको धनगढीको पारीमा कुनै पनि खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।
सन्दीप जोरा र सौरभ खनाल आठ–आठ रनमा आउट भएभने पिटर ट्रेगोले २७ रन बनाए। जुन धनगढीको पारीमा सर्वाधिक स्कोर हो। अरु खेलाडी पनि सस्तैमा आउट भएपछि धनगढी कमजोर साविक भयो। बलिङ तर्फ सन्नी पटेलले चार तथा भुवन कार्की र स्मिथ पटेलले दुई दुई विकेट लिए।