युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रिक्त रहेको राखेपको सदस्य पदमा नियुक्तिको प्रक्रिया अघि बढाएका छन्। मन्त्री विश्वकर्माले नियुुक्तिका लागि प्रक्रिया अघि बढाएपछि नेपाली खेल क्षेत्र फेरि एक पटक तरंगित भएको छ।
नेपाली खेल क्षेत्रमा तत्कालीन नेकपा एमालेभित्रको गुटगत राजनीतिको प्रभाव यतिबेला पनि देखिन थालेको छ। युवा तथा खेलकुद मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार राष्ट्रिय खेलकुद परिषदमा तीन सदस्यको नियुक्तिको तयारी भएको छ। मन्त्रिपरिषदको अब बस्ने बैठकले तीन जनाको नियुक्ति गर्ने बुझिएको छ।
राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्वर तिम्सिना, पूर्व सदस्य राजेश गुरुङ र इन्दिरा निरौलाको नाम राखेपमा नयाँ सदस्य बन्ने सूचीमा रहेको छ। अन्य दुई सदस्यको विषयमा तत्कालीन नेकपा एमालेभित्र खासै चर्चा नभएपनि पूर्व उपाध्यक्ष पिताम्वर तिम्सिनाको नामलाई लिएर बढी नै चर्चा भइरहेको छ। तिम्सिना विगत लामो समयदेखि विभिन्न तह र माध्यमबाट नेपाली खेल क्षेत्रमा सक्रिय छन्।
नेपाली खेल क्षेत्रमा देखिएका विवाद, खेल संघको अवस्था मात्र होइन राष्ट्रिय खेलकुद परिषदभित्रका तमाम विषयमा तिम्सिना जानकार छन्। त्यतिमात्रै होइन वर्तमान राखेप सदस्य सचिव केशव विष्टलाई पनि तिम्सिनाको नियुक्ति त्यति सहज लागिरहेको छैन। कारण हो, तत्कालीन एमालेको अर्को गुटका भएका कारण।
विष्टको कार्यकालभर तिम्सिना राखेपबाट टाढै रहे। यसको अर्थ विष्टको माधव नेपाल गुटसँग खेलमा सहकार्य नै भएन। विष्टको कार्यकाल सकिन अब पाँच महिना भन्दा पनि कम समय छ त्यसैले यो बेला राखेपमा हुन लागेको नियुक्ति उनका लागि पनि पच्नसक्ने खालको होस् भन्ने विष्टको चाहना छ। तर, तिम्सिनाको नियुक्तिको चर्चाले विष्टको पनि मुख अमिलो मात्र भएको छैन नियुक्ति रोक्नका लागि केही गर्न सकिन्छ कि भन्ने चलखेलमा समेत उनी लागेका छन्।
युवा तथा खेलकुद मन्त्रालयका पूर्व सचिव सुशिल शमशेर राणा राखेप सामूहिक काम गर्ने थलो भएको बताउँछन्। उनले भने,‘एउटा व्यक्तिले मात्र काम गरेर सफल भइदैन। खेल क्षेत्रको भलो गर्ने मान्छे आएर खेल क्षेत्रमा विद्यमान विवाद समाधान गरोस भन्ने हो। नेपाली खेल क्षेत्रका विवाद जस्ताका तस्तै छन्। खेलको अवस्था पनि झन बिग्रदो छ। त्यसैले यसमा व्यापक सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ।’
राखेपका पूर्व सदस्य सचिव युवराज लामा पनि खेल क्षेत्रमा जुझारु नेतृत्व आवश्यक भएको स्वीकार गर्छन्। लामा भन्छन्,‘वर्तमान संरचनामा तिम्सिनाको नियुक्ति यदि हुने हो भने त्यसलाई सबैले सकारात्मक रुपमा नै लिनुपर्ने हुन्छ। मसँग झण्डै तीन वर्षसँगै काम गर्दा तिम्सिनाको काम गराइ र शैली मलाई मन परेको हो। खेल बुझेको, खेलमा केही गरांै भन्ने र केही भिजन पनि भएको मान्छे भएका कारण उनको नियुक्ति खेल क्षेत्रका लागि राम्रो नै मान्नुपर्छ। ’
तिम्सिनाको नियुक्तिको चर्चाले ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि तनावमा रहेको स्रोत बताउँछ। ओलम्पिक कमिटीको विवाद राम्रैसँग बुझेका तिम्सिना विगत देखि नै श्रेष्ठको अवैधानिकताको विषयमा बोल्ने व्यक्ति हुन्। त्यसैले पनि तिम्सिनाको प्रवेश आफ्ना लागि असहज हुने भएका कारण पनि श्रेष्ठ केही तनावमा देखिएका हुन्।
राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन भन्छन्,‘पहिलेदेखि नै खेलकुदमा लागेको मान्छे भएकाले र खेल बुझेको मान्छे भएकाले तिम्सिनाको नियुक्ति भयो भने त्यसले खेल क्षेत्रलाई भलो नै गर्छ।’
अर्का पूर्व सचिव सुशिल घिमिरेका अनुसार पनि नेपाली खेल क्षेत्रका लागि एक्टिभ भएर काम गर्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताउँछन्। तिम्सिना उपाध्यक्ष भएकै बेला मन्त्रालयसहितको पहलमा देशभर राखेपको जग्गा जमिन यकिन गरी तिनीहरुको संरक्षण गर्ने विषयमा केही प्रयास सुरु गरिएको थियो। तर, सचिव घिमिरे मन्त्रालयबाट सरुवा भएलगत्तै यो विषय रोकिएको थियो।
घिमिरेले भने, ‘उपाध्यक्ष पद कार्यकारी नभएका कारण पनि उहाँले चाहेर पनि केही काम गर्न नसकेको अवस्था पनि थियो। तर, पनि उहाँ सक्रिय चाहिँ हुनुहुन्थ्यो।’ त्यसैले खेल क्षेत्रको सबै विषय बुझेको व्यक्ति भएका कारण तिम्सिनाहरु जस्ता सक्रिय युवाको नियुक्ति खेल क्षेत्रका लागि राम्रो हुने उनको भनाइ छ।
नेपालको खेल क्षेत्रमा ऐन, नियम र कानुन बनाउने मात्र होइन, धेरै विषयमा पुर्नसंरचना नै गर्नुपर्ने अवस्था छ। खेल क्षेत्रमा समस्याका चाङ पनि छन्, जसले गर्दा खेल नेतृत्व सम्हाल्नेहरुलाई आगामी दिन त्यत्ति सहज छैन। तर, पनि खेल क्षेत्र बुझेको, खेलबाटै विदेश जानुपर्छ र भ्रष्टाचार गर्नुपर्छ भन्ने सोच नभएका व्यक्ति नेतृत्वमा आए खेल क्षेत्रले थोरै भएपनि राहत पाउने जानकारहरु बताउँछन्।